सिमरा,विश्व वातावरण दिवसको अवसरमा बाराको सिमरामा रहेको जनहित उपभोक्ता समितिले आइतवार वृक्षारोपण गरेको छ ।

समितिको कार्यलय परिशरमा भएको वृक्षारोपण कार्यक्रममा अमला, अम्वा, टिक, सिसौ, साल लगायतका विभिन्न जातका बिरूवा रोपिएको थियो । कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेलले वातावरण संरक्षणमा सामुदायिक वन तथा अन्य संघसंस्थाहरूको भुमिका महत्वपूर्ण हुने बताउनुभयो ।

कार्यक्रममा नगर उपप्रमुख भोलाप्रसाद अधिकारीले फोहोरमैला व्यवस्थापन, वातावरण संरक्षण तथा स्वच्छ नगर निर्माणमा उपमहानगरपालिका कार्यालय सदैब तत्पर रहेको बताउनुभयो । त्यैसैगरी जीतपुरसिमरामा बढ्दै गएको प्रदुषणमा नगरपालिकाको भुमिकाप्रति प्रश्न गर्दै जितपुरसिमरा सार्वजनिक सरोकार समिति संयोजक तथा एमाले नेता मनोज पौडेलले उद्योगबाट हुने प्रदुषण नियन्त्रणमा सरोकार समितिले सधै खबरदारी गरेको तर उपमहानगरपालिकाबाट प्रदुषण नियन्त्रण गर्नेतर्फ कुनै काम नभएको गुनासो व्यक्त गर्नुभयो ।

जनहित उपभोक्ता समितिका अध्यक्ष अमृतलाल श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा एमाले नेता देवनारायण चौधरी, जीतपुरसिमरा उपमहानगरपालिका वातावरण प्रमुख पुष्पा सिह, जनकल्याण बचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष कमला घिमिरे, समाजसेवी मुकुन्दबहादुर क्षेत्री, वडा नम्बर २ का वडा अध्यक्ष धनबहादुर श्रेष्ठ, वडा नम्बर ६ का वडा अध्यक्ष कैमुद्धिन अन्सारी, संस्थाका संस्थापक अध्यक्ष मधुसुदन सिटौलालगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा स्थानीय तहमा निर्वाचित जीतपुरसिमराका नगर प्रमुख, उपप्रमुख, वडा नं १, २, ३, ६ र ७ का वडा अध्यक्षहरूलाई सम्मानसमेत गरिएको थियो । समितिका सचिव पेशल मुल्मीको संचालन रहेको कार्यक्रममा स्वागत मन्तव्य सदस्य पद्मा बस्नेतले गर्नुभएको थियो ।

त्यसैगरी विश्व पर्यावरण दिवसको अवसरमा जितपुरसिमरा उपमहानगरपालिका– १६ पिलुवाका दुई स्थानमा १ हजार ५ सय विरुवा रोपिएको छ । ब्रम्हकुमारी राजयोग यूवा प्रभाग वीरगन्ज र सशस्त्र प्रहरीको ४० नम्बर रिजर्व गणको आयोजनामा वृक्षारोपण गरिएको हो । बाटिका परिशरमा १ हजार र गण परिशरमा विभिन्न प्रजातिका ५ सय गरी एक हजार ५ सय विरुवा रोपिएको हो ।

ब्रम्हकुमारी राजयोगले पिलुवास्थित शान्ति बाटिका परिशरमा आयोजना गरेको कार्यक्रम बोटविरुवा गोडमेल र नयाँ विरुवा रोपणसँगै नवनिर्वाचित स्थानीय तहका जनप्रतिनिधिहरुलाई सम्मान गरिएको थियो । प्रहरी गणले गण परिशरमा वृक्षरोपण गरेर पर्यावरण दिवस मनाएको हो ।

दुबै कार्यक्रम वडा नम्बर १६ का अध्यक्ष हरिदेव खरेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । प्रमुख अतिथि समेत रहनु भएका खरेलले बोटविरुवा र प्राणीबीचको सम्बन्धलाई केलाउँदै मानव जीवनका लागि अक्सीजनको श्रोत नै बोटबिरुवा भएकाले संरक्षणमा जट्नु पर्ने बताउनुभयो । वनजंगल खोलानालाको संरक्षण बिना मानव जीवन रहन नसक्ने उहाँको भनाइ थियो ।

कार्यक्रममा सशस्त्र प्रहरीको ४० नम्बर रिजर्व गणका गणपति एसपी संजय भट्टराई, डमुरवाना क्याम्पसका प्रमुख राधेश्याम शिवाकोटी, सामाजिक अगुवा राजकुमार अर्याल, अनिलकुमार मैनाली लगायतको सहभागिता रहेको थियो ।

सहभागीहरुले वातावरको महत्व दर्शाउँदै संरक्षण जुट्न आग्रह गरेका थिए । कार्यक्रममा ब्रम्हकुमारी राजयोग वीरगन्जकी प्रमुख रविना दिदी, चन्द्र निगाहपुरकी प्रमुख मैया बहन र शान्ति बाटिका संरक्षक गुणराज भाइजीले जनप्रतिनिधिहरुलाई सम्मान गर्नुभएको थियो ।

यसैगरी रिर्जव गण परिशरमा भएको वृक्षणपण कार्यक्रममा गणपती भट्टराई, डिएसपी गोविन्द पोखरेल लगायतको सहभागिता रहेको थियो ।

दुबै स्थानमा आँप, कटहर, टिक, रुद्राक्ष, गोलमोहर, वर, पिपलका विरुवा रोपिएको थियो ।

उता, विश्व वातावरण दिवसको अवसरमा सूर्य नेपाल प्रा.लि.ले वृक्षारोपण गरेको छ । वीरगन्ज– सिमरा ६ लेन सडकखण्डअन्र्तगत सिमरा दुरसंचार संस्थानदेखि जीतपुर रातो पुलसम्म करिब ४ किलोमिटर सडकको मेडियन तथा सर्भिस लेनको दुबै भागलाई हराभरा, सुन्दर र स्वच्छ सिमरा बनाउने उद्देश्यले वृक्षारोपण गरिएको प्रा.लि.ले जनाएको छ ।

सो स्थानमा अशोका, पाम लगायत विभिन्न प्रजातिका गरी करिब ६ हजार विरुवा रोपिएको छ । सो अवसरमा जीतपुरसिमरा उपमहानगरपालिकाका नगरप्रमुख राजन पोडेलले वृक्षारोपणको शुभारम्भ गर्दै सूर्य नेपाल प्रा.लि.ले विगतका वर्षदेखि नै सामाजिक उत्तरदायित्व अन्तरगत विभिन्न रचनात्मक कार्यक्रमहरु गर्दै आइरहेकोमा प्रशंसा गर्नुभयो । साथै यस्तै सामाजिक एवम् रचनात्मक कामलाई निरन्तरता दिन आग्रह गर्दै उपमहानगरको तर्फबाट निर्वाहा गर्नुपर्ने भूमिकाका लागि तयार रहेको पनि उहाँले बताउनुभो ।

सूर्य नेपालका प्रा.लि.का कारखाना प्रबन्धक सुरेशकाजी श्रेष्ठले स्वच्छ हराभरा, सिमरा बनाउने अभियानलाई सफल बनाउन वृक्षरोपण गरिएको बताउँदै यसमा उपमहानगर एवम् सम्पुर्ण नागरिकले स्वामित्व लिनुपर्ने बताउनुभयो । दुई वर्षको अवधिसम्म सूर्य नेपालले नै विरुवाको हेरचाह संरक्षण र सम्बर्धन गर्ने उहाँको भनाइ छ ।

वृक्षरोपण कार्यक्रममा सूर्य नेपालका कर्मचारी, स्थानीय समाजसेवी, जीतपुरसिमरा उपमहानगरपालिकाका उपमेयर, वीरगन्ज उद्योग वाणिज्य संघका प्रतिनिधि, सरकारी तथा गैरसरकारी संस्थाका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here