कोल्हवी,कोल्हवी नगरपालिकामा सरुवा भएर आउनुभएका प्रमुख प्रशासकीय अधिकृत उपसचिव रमेश श्रेष्ठले कार्यालयमा हाजिरी भएर कार्यभार सम्हाल्नुभएको छ ।नगरपालिकामा आयोजित संक्षिप्त कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठले जिम्मेवारी ग्रहण गर्नुभएको हो । सो अवसरमा नगर प्रमुख रामप्रसाद चौधरी, उपप्रमुख लक्ष्मी चौधरीसहित नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीहरूले प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठको स्वागत गरेका थिए ।
कार्यक्रममा नगर प्रमुख चौधरीले नगरपालिकाको प्रशासनिक सुदृढीकरण, विकास निर्माण तथा सेवा प्रवाहलाई प्रभावकारी बनाउन प्रमुख प्रशासकीय अधिकृतको भूमिका अत्यन्त महत्वपूर्ण रहने उल्लेख गर्नुभयो । उहाँले श्रेष्ठको दीर्घ प्रशासनिक अनुभव र नेतृत्व क्षमताले नगरपालिकाको सुशासन र विकास प्रक्रियामा सकारात्मक योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा नगरपालिकाका जनप्रतिनिधि, विभिन्न शाखाका प्रमुख तथा कर्मचारीहरूको सहभागिता रहेको थियो ।
यसअघि कोल्हवी नगरपालिकामा कार्यरत प्रमुख प्रशासकीय अधिकृत पितानाथ लुइटेल सर्लाहीको लालबन्दी नगरपालिका सरुवा हुनुभएको थियो ।
















