कृष्ण उदास खनाल
वीरगञ्ज,धनुषामा मस्जिदमा तोडफोड गरिएको घटनाको विषयलाई लिएर दुई फरक समुदायले प्रदर्शन गर्दै आएका कारण आइतवारदेखि नै तनाब बढेको वीरगञ्जमा जिल्ला प्रशासन कार्यालय पर्साले सोमवार साँझबाट कर्फु आदेश जारी गरेको छ ।सोमबार दिउँसो १ बजेदेखि निषेधाज्ञा लगाइए पनि अवस्था पूर्ण रुपमा सामान्य नबनेपछि स्थानीय प्रशासनले साँझ ६ बजेदेखि मंगलबार बिहान ८ बजेसम्मका लागि कर्फु आदेश जारी गरेको हो ।धनुषाको कमलमा– ६ सखुवा मरानस्थित मुस्लिम टोलमा रहेको मस्जिदमा गत शनिबार तोडफोड र मुस्लिम धर्मावलम्बीको ग्रन्थ कुरान जलाइएको घटना सामाजिक सञ्जालमार्फत सार्वजनिक भएको थियो।त्यहि विषयलाई वीरगञ्जमा पनि आइतबारदेखि दुई फरक समुदायले प्रदर्शन गर्दै आएका छन् ।

मस्जिद तोडफोडको विरोधमा आइतबार बिहान वीरगन्जमा मुस्लिम समुदायले विभिन्न स्थानमा टायर बालेर प्रदर्शन गरेका थिए । मस्जिद तोडफोडमा संलग्नहरुलाई कानूनी कारबाही गरिनिुपर्ने माग उनीहरुको थियो ।
आइतबार बिहान मुस्लिम समुदायको प्रदर्शनपछि साँझ हिन्दु समुदायका युवाहरुले पनि मोटरसाइकल जुलुश निकालेर प्रदर्शन गरेका थिए । सामाजिक सञ्जालमा हिन्दु धर्मप्रति आपत्तिजनक टिप्पणी दिनेहरुलाई कारबाही हुनुपर्ने माग उनीहरुको थियो ।
सोही क्रममा सोमबार बिहान फेरि हिन्दु समुदायका युवाहरुले वीरगञ्जमा नाराबजी गर्दै प्रदर्शन गर्न थालेपछि वीरगन्ज– ३ छपकैया क्षेत्रमा मुस्लिम समुदायका युवाहरुपनि भेला भएर नाराबाजी गरेका थिए ।त्यसपछि स्थिति तनावपूर्ण बन्दै जाँदा जिल्ला प्रशासन कार्यालयले वीरगन्ज महानगरको शहरी क्षेत्रमा दिउँसो १ बजेदेखि निषेधाज्ञा लगाएको थियो । दिउँसो १ बजेदेखि निषेधाज्ञा लगाइएको खबर सार्वजनिक भएलगत्तै माईस्थान मन्दिर क्षेत्रमा भेला भएका हिन्दु समुदायका युवाहरु पुन नाराबाजी गर्दै सडकमा निस्किएका थिए ।
आदर्शनगर हुदैं वीर्तातर्फ अगाडि बढेका उनीहरु मकालु होटल चोकमा पुग्दा प्रहरीले रोक्न खोज्दा दुवैपक्षबीच झडप भएको थियो । प्रहरीले लाठी चार्ज गर्दै तितरबितर पार्न खेज्दा प्रदर्शनकारीले ढुंगा प्रहार गर्न थालेका थिए । त्यसपछि प्रहरीले थप लाठीचार्ज गर्नुका साथै अश्रु ग्यासपनि प्रहार गरेको थियो । जसका कारण अवस्था झन् तनावग्रस्त बनेको थियो ।त्यसपछि प्रदशनकारीहरुको एक समुह वीरगन्जको लाठगल्ली क्षेत्रमा प्रवेश गर्न खोज्दा प्रहरीले बल प्रयोग गरेर रोकेको थियो । त्यसक्रममा पनि प्रहरीसंग केहिबेर झडप भएको थियो । घटनामा एक दर्जनभन्दा बढी प्रदर्शनकारी घाइते भएको जनाइएको छ । सोही क्रममा प्रहरीले केही प्रदर्शनकारी युवाहरुलाई नियन्त्रणमा पनि लिएको थियो । साँझ भने मुर्ली चोकमा फरक समुदायका दुई युवकलाई एक समुहले कुटपिट गर्न थालेपछि प्रहरीले त्यहाँपनि लाठी चार्ज गर्दै पूर्ववडाध्यक्ष तुफान अन्सारीसहित तीन जनालाई नियन्त्रणमा लिएको थियो ।
यस्तै दिउँसो आदर्शनगर क्षेत्रमा भएको प्रदर्शनको समाचार संकलन गर्न पुगेका पत्रकार श्रवण साहमाथि हातपात गर्नुका साथै उनको मोबाइल सेट खोसेर गायब पारिएको छ । प्रदर्शनको भिडियो खिच्ने क्रममा भोजपुरी टाइम्स दैनिकका कार्यकारी सम्पादक साहमाथि प्रदर्शकारीहरुले हातपात गर्नुका साथै उनको मोबाइल फोन खोसेका थिए ।उक्त मोबाइल अहिलेसम्म पनि आँफुले फिर्ता नपाएको पत्रकार साहले बताउनुभयो ।निषेधाज्ञा आदेश जारी गर्दापनि दिनभर ठाँउ ठाँउमा प्रदर्शन हुदाँ अवस्था पूर्ण रुपमा नियन्त्रणमा आउन नसकेपछि जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्जको शहरी क्षेत्रमा सोमबार साँझ ६ बजेदेखि मंगलबार बिहान ८ बजेसम्मका लागि कर्फु आदेश जारी गरेको हो ।
यसअघि वीरगञ्जमा सोमबार जारी गरिएको निषेधाज्ञा उल्लंघन गरेर प्रदर्शन गर्ने २६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुवै समुदायका गरी २६ जना प्रदर्शनकारीलाई निनयन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक राजु कार्कीले जानकारी दिनुभयो ।
यता नेपाल पत्रकार महासङ्घ पर्सा शाखाले वीरगञ्जलगायतका क्षेत्रमा विभिन्न धार्मिक समुदायले आयोजना गरेका प्रदर्शनका क्रममा समाचार सङ्कलनमा खटिएका सञ्चारकर्मीमाथि भएका आक्रमण र दुव्र्यवहारका घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।महासङ्घका सचिव विजय महतो एउटा प्रेस विज्ञप्ति जारी गर्दै आज वीरगञ्जमा जारी निषेधाज्ञाबिच प्रदर्शनकारी र प्रहरीबिच भइरहेको झडपको रिपोर्टिङका क्रममा स्थानीय भोजपुरी टाइम्स दैनिकका कार्यकारी सम्पादक श्रवण साहसँग भएको दुव्र्यवहारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउनुभएको छ ।
महतोका अनुसार प्रदर्शनको दृश्य खिचिरहेको अवस्थामा प्रदर्शनकारीले साहको मोबाइल खोसेर उनीमाथि आक्रमण गरेका थिए । उहाँले साहमाथि भएको आक्रमणको निन्दा गर्दै समाचार सङ्कलनमा खटिएका पत्रकारमाथि भएको आक्रमण र अवरोधलाई प्रेस स्वतन्त्रता तथा नागरिकको सूचित हुन पाउने अधिकारको गम्भीर हनन भएको बताउनुभएको छ । उहाँले स्वतन्त्र प्रेस विरोधी गतिविधि नगर्न प्रदर्शनकारीलाई सचेत समेत गराउनुभएको छ ।
आक्रमणका दोषीलाई तत्काल कानुनी कारबाहीको दायरामा ल्याउन जोडदार माग पनि महतोले गर्नुभएको छ ।



















