कृष्ण मोहन साह
सेढवा,ठोरी गाउँपालिकामा रहेका सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरुलाई सोमबार झोला वितरण गरिएको छ । ठोरी गापा अध्यक्ष लालबहादुर श्रेष्ठले सोमवार गापामा रहेका कक्षा १२ सम्म सन्चालित सबै विद्यालयमा २ सय ९२ थान झोला वितरण गरेको ठोरी गापा कार्यालयका शिक्षा संयोजक भुपालकुमार जोशीले जानकारी दिनुभयो ।
नेपाल बैंकर्स संघ मधेस प्रदेशको सहयोगमा छात्राहरुलाई झोला वितरण गरिएको संयोजक जोशीले बताउनुभयो । बैंकर्स संघले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरगत कक्षा ११ र १२ अध्ययनरत छात्राहरुको सहजताका निम्ति झोला उपलब्ध गराएको हो । संघले उपलब्ध गराएको झोला नेरा प्राविधिक मावि दीपकनगर, सरस्वती नमुना मावि ठोरी, नेरा मावि ओडार, श्री मावि विजयवस्ती र ज्ञानवाटिका मावि सुवर्णपुर लगायतका विद्यालयमा अध्ययनरत छात्राहरुलाई वितरण गरिएको हो ।
झोला वितरण कार्यक्रममा गापा अध्यक्ष श्रेष्ठ, नेपाल बैंकर्स संघका कर्मचारीहरु, शिक्षा संयोजक जोशी लगायत सम्बन्धित विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, विद्यालयका प्रधानाध्यापक, शिक्षकलगायत विद्यार्थीको उपस्थिति थियो ।