आर के चौधरी
सखुवाप्रसौनी,पर्सा जिल्लाको सखुवाप्रसौनी गाउँपालिकामा दलित समुदायको सशक्तीकरणका लागि दलित सशक्तीकरण ऐन निर्माण गर्ने विषयमा सकारात्मक पहल सुरु भएको छ ।
गाउँपालिकाका अध्यक्ष यशवंत यादव तथा प्रमुख प्रशासकीय अधिकृत सञ्जिवकुमार यादवले ऐन निर्माण प्रक्रियालाई अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।दलित समुदायको सामाजिक, आर्थिक तथा राजनीतिक सशक्तीकरणलाई संस्थागत गर्न स्थानीय तहमा छुट्टै ऐन आवश्यक रहेको भन्दै दलित समुदायले पहल तथा खबरदारी अभियान सञ्चालन गर्दै आएका थिए । सोही अभियानका क्रममा गाउँपालिका नेतृत्वसँग भएको छलफलमा अध्यक्ष यादव र प्रमुख प्रशासकीय अधिकृत यादवले ऐन निर्माणका लागि आवश्यक प्रक्रिया अघि बढाउने प्रतिबद्धता जनाएका हुन् ।
दलित अगुवा मनोज रामका अनुसार अभियानका क्रममा भएको छलफलमा गाउँपालिका नेतृत्वले दलित सशक्तीकरण ऐन निर्माणलाई प्राथमिकतामा राख्ने आश्वासन दिएको हो । उहाँले ऐन निर्माणले दलित समुदायका हक–अधिकार सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभएको छ ।अभियानमा सहभागी दलित अधिकारकर्मी तथा स्थानीय अगुवाहरूले दलित समुदायले भोग्दै आएका विभेद, अवसरको अभाव र पहुँचको समस्यालाई समाधान गर्न ऐन अपरिहार्य रहेको बताएका छन् । उनीहरूका अनुसार ऐनमार्फत बजेट सुनिश्चितता, निर्णय प्रक्रियामा सहभागिता वृद्धि र समावेशी विकासको मार्ग प्रशस्त हुने अपेक्षा गरिएको छ ।

















