राजन कुमार बानिया
पोखरिया,निजी तथा आवासीय विद्यालय सङ्गठन (प्याब्सन) वीरगञ्जको आयोजनामा सञ्चालन भएको दोस्रो संस्करणको प्याब्सन टी–१० बोयज तथा गल्र्स क्रिकेट प्रतियोगिता मङ्गलवार सम्पन्न भएको छ ।वीरगञ्जको आदर्शनगर रङ्गशालामा सम्पन्न जुनियर बोयजतर्फको फाइनल खेलमा पर्साको ग्रामीण भेगस्थितको स्कुल ब्लु हेभन एकेडेमीले वीरगञ्जको साउथ जोन स्कुललाई पराजित गर्दै उपाधि जित्न सफल भएको हो ।

जिल्ला स्तरीय प्रतियोगितामा पहिलो पटक ग्रामीण भेगको विद्यालय विजेता घोषित भएको आयोजकले जनाएको छ । प्रतियोगितामा तेस्रो स्थान वीरगञ्जको मनकामना स्कुलले हासिल गर्दा चौथो स्थान लिटल फलावर एकेडेमीले प्राप्त गरेको छ ।त्यस्तै प्याब्सन टी–१० गल्र्स क्रिकेट प्रतियोगितातर्फ लिटल फ्लावर एकेडेमीले नेशनल एकेडेमीलाई पराजित गर्दै च्याम्पियन बन्न सफल भएको छ । फाइनल खेलमा पराजित नेशनल एकेडेमी स्कुल उपविजेतामा सीमित भएको हो । गल्र्सतर्फ तेस्रो स्थान साउथ जोन स्कुलले हासिल गर्दा चौथो स्थान एसआर ग्यालेक्सी स्कुलले प्राप्त गरेको छ ।
विजेता तथा उपविजेता विद्यालयहरूलाई प्रमुख अतिथि वीरगञ्ज महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाका प्रमुख आनन्द लामिछानेले ट्रफी, मेडल तथा प्रमाणपत्र वितरण गरेका थिए ।

सो अवसरमा बोल्दै प्रमुख अतिथि लामिछानेले शिक्षा जत्तिकै खेलकुद पनि विद्यार्थीको सर्वाङ्गीण विकासका लागि महत्त्वपूर्ण रहेको उल्लेख गर्नुभयो । उहाँले हाल विभिन्न कारणले खेलकुद गतिविधि सञ्चालनमा केही चुनौती देखिए पनि आगामी दिनमा महानगरपालिकाले आवश्यक तयारी गरिरहेको जानकारी दिनुभयो ।

खेलकुदले व्यक्तिगत क्षमताको विकाससँगै समाज, राष्ट्र तथा अन्तर्राष्ट्रिय स्तरमा समेत सकारात्मक योगदान पु¥याउने बताउँदै उहाँले विद्यार्थीहरूलाई खेलकुदप्रति थप सक्रिय हुन प्रेरित गर्नुभयो ।प्याब्सन वीरगञ्ज महानगर अध्यक्ष राहुल श्रीवास्तवको सभापतित्वमा सम्पन्न समारोहमा प्याब्सन पर्साका अध्यक्ष सरोज चौधरी, मानव सेवा आश्रम वीरगञ्जका दिवेश गुप्ता, प्याब्सन मधेस प्रदेश सल्लाहकार मनी पाख्रिङ, लालबाबु पटेल, प्याब्सन पर्साका वरिष्ठ उपाध्यक्ष सुशिला शाह, सचिव अशोक संग्रौला, सह–कोषाध्यक्ष सुदिलप्रसाद पटेल, हिसान जिल्ला उपाध्यक्ष आलोक चौरसिया, प्याब्सन वीरगञ्ज नगर कोषाध्यक्ष सुरज बाबु पटेल, सदस्य विजय बललगायत विभिन्न विद्यालयका प्रिन्सिपल तथा शिक्षकहरूको उपस्थिति रहेको थियो ।कार्यक्रमको स्वागत मन्तव्य प्याब्सन वीरगञ्जका नगर उपाध्यक्ष शर्मानन्द कुशवाले व्यक्त गर्नुभएको थियो भने कार्यक्रमको सहजीकरण नगर सचिव अमित आलोकले गर्नुभएको थियो ।

Leave a Reply