नरेश गुप्ता

बरियारपुर,कलैया उपमहानगरपालिका वडा नम्बर १४ भौरास्थित मुसहर बस्तिमा लुमन्तिको सहकार्यमा निर्माण गरिएका ३० वटा आवाशीय भवन बिहिवार हस्तान्तरण गरिएको छ ।

कलैया उपमहानगरपालिकाका नगर प्रमुख राजेश राय यादवले उद्धाटन गरेसंगै भवन पनि हस्तान्तरण गर्नुभएको हो । भवन हस्तान्तरण कार्यक्रममा बोल्दै मेयर यादवले मुसहर जातिको उत्थानको लागि आफूले सधै काम गर्दै आएको दाबी गर्नुभयो । लुमन्तिको सहकार्यमा गुणस्तरीय भवन निर्माण गरेर मुसहर समुदायलाई हस्तान्तरण गरेपछि आफ्नो लक्ष्य पूरा भएको उहाँले बताउनुभयो ।

वर्षा अगावै भवन निर्माण गरेर हस्तान्तरण गरिएपछि स्थानीय मुसहर समुदायका बासिन्दाहरु हर्षित भएका छन । यस वर्षको वर्षादेखि फुसको पानी चुहिने छाना भएको घरबाट मुक्ति पाएकोमा उनीहरु खुसी बनेका हुन ।

कलैया उपमहानगरपालिकाका कार्यालयले १८ लाख, लुमन्ती आवाशको लागि सहयोग समूहको ४८ लाख, बिल्डअप नेपालको १५ लाख, शहरी सामुदायिक सहयोग कोषबाट २४ हजार ५ सय र लाभग्राही समुदायबाट प्रतिघरबाट ४० हजारको दरले ३० जनाको तर्फबाट १२ लाखको कुल योगदानमा निर्माण भएको ३० वटा भवन हस्तान्तरण गरिएको हो ।

त्यसैगरी कलैया उपमहानगरपालिका वडा नम्बर ५ स्थित श्रीपन्ना देवी कन्या माध्यमिक विद्यालयमा निर्मित ४ कोठे भवनको बिहीवार नै नगर प्रमुख यादवले उद्धाटन गर्नुभएको छ ।

उद्धाटन कार्यक्रममा कलैया उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नाथु साह, लुमन्ती आवास निर्माणका प्रतिनिधि तथा स्थानीय भद्रभलादमी र संचारकर्मीलगायतको पनि सहभागिता रहेको थियो ।

Leave a Reply