वीरगञ्ज,बढ्दो शीतलहर र प्रतिकूल मौसमका कारण वीरगञ्ज महानगरपालिकाले दोस्रो पटक विद्यालय बिदा थप गर्ने निर्णय गरेको छ ।महानगरपालिकाले यसअघि पुस ७ गतेदेखि १४ गतेसम्म सामुदायिक र संस्थागत विद्यालयहरूमा पठनपाठन स्थगित गरेको थियो । तर, मौसममा सुधार नआएपछि चिसो अझै नघटेको भन्दै थप तीन दिन बिदा बढाइएको हो । महानगरपालिकाका मेयर राजेशमान सिंहको निर्देशनमा थपिएको बिदाले भोली पुस १६ गतेदेखि १८ गते शुक्रवारसम्म विद्यालय बन्द रहने भएका छन् ।
शैक्षिक प्रशासन महाशाखाका प्रमुख आनन्द लामिछानेले जानकारी दिएअनुसार, पुस १९ गते शनिवार रहेकोले पुस २० गते आईतबारदेखि मात्र विद्यालयहरू नियमित सञ्चालन हुने छ ।यसअघि जारी सूचनामा पुस १५ गते तमु ल्होसारको सार्वजनिक बिदा परेको र मौसम सुधारको आशामा पुस १६ गतेदेखि विद्यालय खुल्ने उल्लेख थियो । तर, तराई क्षेत्रमा घना कुहिरो र शीतलहरको प्रभाव कायमै रहेकाले थप बिदा दिनुपरेको महाशाखाले जनाएको छ । बिदा वर्षे बिदाबाट कट्टा हुने गरी दिइएको छ ।तराई क्षेत्रमा पुस महिनामा घना कुहिरो र शीतलहरको प्रभाव बढ्दा बालबालिकाहरूको स्वास्थ्यमा विशेष असर पर्ने गर्दछ । पछिल्लो केही दिनदेखि बढेको चिसोले विद्यार्थीहरूलाई विद्यालय आउजाउ गर्न कठिनाइ भएको तथा स्वास्थ्य जोखिम बढेको भन्दै यो निर्णय लिइएको हो ।शैक्षिक प्रशासन महाशाखाका प्रमुख लामिछानेले बिदाबाट विद्यार्थीहरूको स्वास्थ्य सुरक्षा हुने र अनावश्यक जोखिमबाट बच्न सकिने विश्वास व्यक्त गर्नुभएको छ ।



















