सरकारले तय गरेको फागुन २१ को चुनाव त्यही दिन हुने÷नहुने कुरा आफ्नो ठाउँमा होला तर झट्ट हेर्दा चुनावको माहौल भने बनेको जस्तो देखिन्छ ।सोमबार निर्वाचन आयोगमा दलहरुको भीडले पनि यही कुराको संकेत गर्दछ । निर्वाचन आयोगले सोमबार पुस १४ गतेका लागि समानुपातिकको बन्द सूचि पेस गर्नका लागि समय दिएको थियो र त्यसैका आधारमा दलहरु समानुपातिकतर्फ आफ्ना उम्मेदवारहरुको नाम लिएर निर्वाचन आयोग पुगे । नेपालमा लोकतन्त्र स्थापनापछि मात्रै यो समानुपातिक निर्वाचन प्रणाली लागू भएको हो । यसअघि भने यो अभ्यास थिएन ।
समानुपातिककै कुरा गर्ने हो भने २०६४ सालको चुनावपछि लगातार प्रयोग हुँदै आइरहेको छ । शुरुका चुनावमा त धेरैले यसको अर्थ नै थाहा पाएनन् जब थाहा पाए तब यो प्रर्णालीमाथि वितृष्णा पैदा भएको छ ।
जेनजी आन्दोलनको क्रममा यो कुरा उठेको भएपनि यसपालिको चुनावमा पनि यो प्रणाली लागू हुनेछ र केही दलका बाहेक अरुले पुरानै ढर्रामा समानुपातिक उम्मेदवार छनौट गर्ने लक्षण देखिएको छ र त्यो भनेको बिलकुल नेताको चाकडी गर्ने, दलाली गर्ने अनि आफ्ना परिवारका सदस्य राख्ने । अहिलेसम्म देखिएको कुरा यही नै हो । यसपालि कसकसले फरक गर्लान् त्यसका लागि त चुनावसम्मको समय कुर्न पर्ला तर नेताहरुको रवैया हेर्दा धेरै परिवर्तन होला जस्तो देखिदैन ।
मुख्यतः चुनावमा खट्न नसक्ने, सामाजिक रुपमा प्रतिष्ठित सहितका लागि यो प्रणाली लागू गरिएको होला तर यहाँ त नेताले आफ्नो स्वार्थका लागि यो प्रणाली प्रयोग गरिरहेका छन् र जसका कारण यो प्रणाली सहित व्यवस्था नै बद्नाम छ । यसपाली हेरौं कस्ता व्यक्ति समानुपातिकमा पर्नेछन् ।
















