काठमाडौं । उज्यालो नेपाल पार्टीसँग एकतापछि राष्ट्रिय स्वतन्त्र पार्टीमा तीन उपसभापति रहने भएका छन् ।
बालेन्द्र शाह साक्षी बसी रास्वपाका सभापति रवि लामिछाने र उनेपाका अध्यक्ष अनुपकुमार उपाध्यायले हस्ताक्षर गरेको सम्झौतापत्रमा एकीकृत पार्टीमा तीन उपसभापति रहने उल्लेख छ ।

उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङ तीन उपसभापतिमध्ये पहिलो वरियतामा रहनुभएको छ । सातबुँदे सहमतिको चौथो नम्बर बुँदामा भनिएको छ, ‘राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सभापति रवि लामिछाने रहने र उपसभापतिमा कुलमान घिसिङ, डीपी अर्याल र स्वर्णिम वाग्ले रहने ।’

यसैबीच उज्यालो नेपाल पार्टीसँगको पार्टी एकतापछि पनि राष्ट्रिय स्वतन्त्र पार्टीको चुनाव चिह्न घण्टी नै रहने भएको छ ।
यसअघि पार्टी एकताको लागि पटकपटक भएका छलफलमा उज्यालो नेपालका संरक्षक कुलमान घिसिङले पार्टीको नाम रास्वपा नै रहने भए चुनाव चिह्न बलिरहेको बत्ती राख्नु पर्ने अडान राख्दै आउनुभएको थियो ।सोमबार साँझ भएको निर्णायक वार्तामा भने उनेपाले आफ्नो अडान त्यागेको छ । अब एकीकृत पार्टीको चुनाव चिह्न घण्टी नै रहने सातबुँदे सहमतिको तेस्रो बुँदामा उल्लेख छ ।एकीकृत पार्टीको झण्डा पनि साविककै निलो पृष्ठभूमिको मध्य भागमा सेतो रङको गोलाकार बिचमा निलो रङको घण्टीको आकृति रहनेछ । पार्टीको केन्द्रीय कार्यालय काठमाडौं उपत्यकामा रहनेछ ।

Leave a Reply