वीरगञ्ज,वीरगञ्ज महानगरपालिकाको १९औं नगर अधिवेशन सोमबार सम्पन्न भएको छ ।
अधिवेशनले यसअघि असोजमा भएको विशेष अधिवेशनले कटौती गरेको वडाको २५ प्रतिशत बजेटलाई पुनः थप गर्ने प्रस्ताव पनि पारित गरेको छ ।भदौ २३ र २४ को जेन–जी आन्दोलन र प्रदर्शनका क्रममा महानगरमा भएको क्षतिपछि असोज महीनामा विशेष अधिवेशन भएको थियो । विशेष अधिवेशनले महानगरको सबै संरचनामा क्षति पुगेकाले पुनःनिर्माणलाई प्राथमिकतामा राख्दै वडाको समेत बजेट कटौती गरेको थियो ।
पुनःनिर्माणका लागि आवश्यक स्रोत जुटाउँदै चालु आर्थिक वर्षमा १७ औं अधिवेशनले छुट्याएको वडातर्फको बजेटलाई यथावत् रहने गरी अहिलेको अधिवेशनबाट पारित गरिएको महानगर प्रमुख राजेशमान सिंहले जानकारी दिनुभयो । उहाँले चालु आर्थिक वर्षको आजसम्म समग्र आय–व्ययको अवस्थासमेत जानकारी गराउनुभएको थियो । हालसम्म विनियोजित ३ अर्ब २२ करोड रुपैयाँमध्ये १ अर्ब १३ करोड रुपैयाँ खर्च भएको पनि उहाँले बताउनुभयो ।
हालसम्म विनियोजित बजेटको ३३ प्रतिशत खर्च भएको छ । चालु खर्चतर्फ ३४ दशमलव ७८ प्रतिशत र पुँजीगत खर्चतर्फ ३२ दशमलव ६४ प्रतिशत रहेको छ । महानगरपालिकाले चालु आवमै सुलभ औषधि पसल र प्रयोगशाला विस्तार, नगर अस्पताल सञ्चालनमा ल्याउने लक्ष्यसमेत राखेको छ ।अधिवेशनमा उपप्रमुख इम्तियाज आलम तथा महानगरका वडाका वडा अध्यक्ष, वडा सदस्य लगायतका सहभागी थिए ।















