सहकारी ठगी प्रकरण अहिले जल्दोबल्दो विषय बन्ने पुगेको छ । सहकारीबाट पीडितहरु हरेक दिनजसो सडकमा उत्रिएका छन् भने सरकार पीडितहरुलाई थामथुम पार्ने र पीडकलाई कारबाहीको दायरामा ल्याउन असफल हुँदै आएको छ ।
सहकारीका नाममा जनताका ८७ अर्ब रुपियाँ खाएर सहकारी सञ्चालकहरु फरार भएका छन् । कतिपय राजनीतिक आडमा कार्यकर्तालाई आन्दोलनमा उतारेर पानीमाथिको ओभानो हुने कोशिशमा रहेका छन् । पछिल्लो समय राजनीतिक आडमा जनताको ६५ करोड रुपियाँ अपचलन गर्ने राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको हर्कत अस्वभनीय देखिएको छ ।
विशेषगरी सदाचार र सुशासनको कुरा गर्दै आएका लामिछाने एकपछि अर्को काण्डमा फस्दै गएपछि कारबाहीबाट बच्नका लागि गरेका हर्कतहरु हेर्दा उनी नेता नभएर हिन्दी फिल्मका भिलेन जस्तो देखिनुले उनीमाथि विश्वास गर्ने युवामाथि कुठाराघात भएको छ । आफ्नो राजनीतिक छवि धमिलिन थालेपछि लामिछाने जस्तोसुकै हर्कत गर्न तयार रहनुले यो मुलुकका लागि अर्को सुरक्षा खतरा हुनसक्ने विश्लेषण गर्न थालिएको छ ।लामिछानेको व्यक्तिगत महत्वाकांक्षाले उनको पार्टीमा लाग्नेहरुसमेत अहिले सोच्न बाध्य भएका छन् । लामिछानेको पछिल्लो राजनीतिक शैली हेर्ने हो भने उनले हिटलरको शैलीलाई पछ्याउन खोजेको देखिन्छ । यसले मुलुकलाई समुन्नत बनाउने होइन, अस्थिरतातर्फ थकेल्ने प्रयास भएको देखिन्छ । अरुलाई सुशासनका पाठ पढाउने लामिछानेले आफूचाहिँ सुशासनमा बस्नुपर्ने कि नपर्ने ? यो अहिले अहं विषयको रुपमा उठेको छ ।