कलैया,सरकारले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल आफैँ बनाउने गरी प्रक्रिया अगाडि बढाएको छ । नागरिक उड्डयन प्राधिकरणले गत आइतबार पर्यटन मन्त्रालयमा सरकार आफैँले विमानस्थल निर्माण गर्ने गरी प्रस्ताव पठाएकोमा सोमबार पर्यटन मन्त्रालयले अर्थ मन्त्रालय र योजना आयोगमा निजगढ विमानस्थल नेपाल सरकारले बनाउने सहमतिका लागि प्रस्ताव पठाएको मन्त्रालय स्रोतले जानकारी दिएको छ । प्राधिकरणको प्रस्तावमा १ खर्ब २० अर्बमा पहिलो चरणको विमानस्थल तयार गर्न सकिनेछ । यसका लागि वार्षिक २० अर्ब रुपैयाँ छुट्याउन समेत प्रस्ताव गरिएको पाइएको छ । त्यस्तै, साना र ठूला गरेर पहिलो चरणमा ५ लाख १९ हजार रूख कटान गर्नुपर्ने समेत उल्लेख गरिएको छ ।प्राधिकरणले गौतम बुद्ध र पोखरा विमानस्थल निर्माण गरेकै अनुभवका आधारमा पनि सरकारले निजगढ बनाउन सक्ने भन्दै प्रस्ताव पठाएको हो । निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि कटान हुने रूख गणनाको काम केही साताअगाडि देखि नै रोकिएको थियो । बाराको वन डिभिजन कार्यालयले खरिद प्रक्रिया सुरु गरेको भन्दै तत्कालका लागि रूख गणना रोकेको छ । विमानस्थल निर्माण हुने १९ सय हेक्टर जंगलमध्ये १ सय ९१ हेक्टरमा रहेका ५७ हजार ३ सय ५० वटा रूखको मात्रै गणना सम्पन्न गरेर बाँकी कार्य स्थगन गरिएको छ । सरकारले विगतमा पिपिपी मोडलमा बनाउने भन्ने प्रक्रिया रोकेर अहिले आफैँ बनाउने निर्णय गर्न लागेको हो । वन डिभिजन कार्यालयले पहिलो चरणमा १९ सय हेक्टर जमिनमध्ये डिभिजन वन कार्यालयले १२ वटा ब्लकअन्तर्गत दुईवटा ब्लकका रूख गणना सम्पन्न गरेको छ । जसमा १ सय ९१ हेक्टर ५७ हजार ३ सय ५० वटा साना र ठूला रूखको गणना गरेको हो । लगानी बोर्डले निर्णय नगर्दा अलपत्र परेको बारामा निर्माणको चरणमा रहेको निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको गुरुयोजना बनाउन सम्झौता भइसकेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले गुरुयोजनाका लागि सिजी इन्फ्राटारविडिए जेभीसँग सम्झौता गरेको थियो ।कुन मोडालिटीमा जाने भन्ने विषयमा नै अलमलमा परिरहेका वेला विमानस्थल निर्माण सरकारले गर्न लागेको हो ।

Leave a Reply