बिदुर खडका
डुमरवाना,विगत एक वर्षदेखि जीतपुरसिमरा उपमहानगरपालिकाको सिमरा चौकमा बेवारिसे अवस्थामा बस्दैआएकी एक महिलाको उद्धार गरिएको छ ।जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेलको सक्रियतामा महिलाको उद्धार गरिएको हो । शुक्रवार राति ९ बजे उद्धार गरिएकी महिलालाई निजगढ ४ स्थित मानव कल्याण समाजको सेवाघरमा ल्याइएको छ ।सिमराका स्थानीय राजनीतिक दलका प्रतिनिधि, प्रहरी प्रशासन र समाज कल्याणका अभियान्ता दिलिप खडकाको रोबरमा महिलाको उद्धार गरिएको हो ।देशभरि ६ वटा शाखामार्फत सडक मानवको उद्धार र पुर्नस्थापना कार्य गर्दै आएको मानव कल्याण समाजको निजगढ शाखा ३ महिनाअघि मात्रै स्थापना भएको हो । समाजको निजगढ शाखामा हाल २० जना सडक मानवलाई राखेर सेवा र उपचार हुदै आएको समाजका दिलिप खडकाले बताउनुभयो । उहाँले हालसम्म समाजलाई कतैबाट सहयोग प्राप्त नभएकोले उद्धार गरिएकाहरुलाई स्थानीयको सहयोगमा मुठ्ठी दानबाट प्राप्त खाद्यान्नबाट पालन पोषण गरिएको खडकाको भनाइ छ ।यता जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख पौडेलले भने यसक्षेत्रमा रहेको अनाथ र बेवारिसेहरुलाई मानव कल्याण समाज निजगढसंग समन्वय गरी उद्धार गरिने प्रतिक्रिया दिनुभएको छ ।


















