राजकुमार यादव

मौलापुर,रौतहटको मौलापुर नगरपालिका–९ सोनरनिया स्थानीयले जिल्ला प्रहरी कार्यालय, रौतहट अगाडि प्रदर्शन गरेका छन् । स्थानीय ४२ बर्षीया श्रीमती सुनैनाकुमारी यादवको हत्या गर्ने मुख्य अभियुक्तलाई पक्राउ गर्नुपर्ने माग गर्दै स्थानीयले प्रदर्शन गरेका हुन ।उनलार्ई छिमेकी कलावती देवी यादव, उनको श्रीमान भोला राय यादव, मधानी देवी र उनको श्रीमान उमत राय यादव मिलेर गत माघ २५ गते बाँसको भाटाले निर्घात कुटपीट गरेर हत्या गरेको स्थानीयको भनाइ छ ।हत्यामा संलग्न रहेको आरोप लागेका कलावती, मधानी र उमतलाई प्रहरीले घटना भएकै दिन नियन्त्रणमा लिएको थियो भने भोलालाई त्यसको भोलिपल्ट पक्राउ गरेर कर्तव्य ज्यान मुद्दा दर्ता गरेको थियो । तर कारबाही प्रक्रिया अघि नबढाइ २९ फागुनमा उमत बाहेकलाई छोडिदिएको भन्दै स्थानीय आक्रोशित छन् । उनीहरुले निरन्तर रौतहट प्रहरीको कार्यशैलीको विरोधमा प्रदर्शन गर्दै आएका छन् । शनिवार उनीहरुले इलाका प्रहरी कार्यालय मौलापुर अगाडि प्रदर्शन गरेका थिए ।खेतमा शौच गरेको विषयमा भएको विवादले उग्र रुप लिएपछि कुटपिट भएको थियो । चार जना मिलेर सुनैनालाई निर्घात कुटपीट गरेको आरोप प्रदर्शनकारीले लगाएका छन् ।घटना भएको दिन अचेत अवस्थाकी सुनैनालाई उद्दार गरेर अस्पतालमा पु¥याउँदा डाक्टरले मरिसकेको बताएको स्थानीय महिला शारदा देवी यादव बताउँछिन् । प्रहरीले आरोपीमध्ये मधानी देवीको ७२ बर्षीय श्रीमान उमत राय यादवलाई मुख्य आरोपी बनाएको छ । प्रहरीले दोषीलाई उम्काउन खोजेकोले प्रदर्शन गर्न बाध्य भएको रामप्रसाद साहले बताउनुभयो । सुनैनाको ४ जना छोरी र दुई छोरा समेत प्रदर्शनमा सहभागी भएका थिए । जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायब उपरीक्षक उमाशंकर यादवले स्थानीयले कुरा नबुझेर प्रहरीको विरोध गरिरहेका बताउनुभयो ।‘हामीले चारै जना विरुद्ध रौतहट जिल्ला अदालत गौरमा मुद्दा दायर गरेका हौं, अदालतले थुनछेक आदेश दिँदा उमत बाहेकलाई छोड्न आदेश दिएको हो ।’ उहाँले भन्नुभयो ।थुनछेक आदेशमा चित्त नबुझेको खण्डमा उच्च अदालत जनकपुरको अस्थायी इजलाश वीरगन्जमा पुनरावेदन गर्न सुझाव दिएको उहाँले बताउनुभयो ।


















