वीरगञ्ज,गत भदौमा भएको जेनजी आन्दोलनको क्रममा वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहको निजी घरमा आगजनी गरेको आरोपमा पक्राउ परेका हिन्दुवादी कार्यकर्ता रन्जन सिंह राजपुत रिहा भएका छन ।
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच मंसिर २४ मा भएको १० बुँदे सम्झौताको आधारमा उनलाई जिम्मेवारी जमानीमा छाडिएको हो । बिहीबार बिहान अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा बोलाइएका बेला वीरगञ्ज– १० रानीघाटका ४१ वर्षीय राजपुतलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।
मेयर सिंहले राजपुतसहित ६ जनाविरुद्ध किटानी जाहेरी दिएपछि पर्सा जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको थियो । तर, साँझ ७ः२० बजेतिर उनलाई प्रहरीले रिहा गरेको हो ।पर्साका प्रहरी उपरीक्षक सुदीपराज पाठकले नेपाल सरकारसंग भएको सम्झौताअनुसार आन्दोलनमा सहभागी भएकै आधारमा थुनामा राख्न नमिल्ने प्रावधान भएकोले आवश्यक परे बयानका लागि फेरि बोलाउने गरी सिंहलाई छाडिएको बताउनुभयो ।
राजपुतको रिहाईको माग गर्दै बिहीबार दिउँसो जेनजी समर्थक र हिन्दुवादी युवाहरूले प्रहरी कार्यालयअगाडि टायर बालेर प्रदर्शन गरेका थिए । उनीहरूले राजपुतलाई निर्दोष बताउँदै बिना शर्त रिहाई नभए कडा आन्दोलन गर्ने चेतावनी दिएका थिए ।
प्रहरी उपरीक्षक पाठकका अनुसार सिंहविरुद्धको मुद्दा भने कायमै छ । “कानुनको पालना गर्दै रिहा गरिएको हो, तर अनुसन्धान जारी रहनेछ,” उहाँले भन्नुभयो । जेनजी आन्दोलनका क्रममा देशभरि भएको क्षति र हिंसाको छानबिन अझै चलिरहेको सन्दर्भमा यो रिहाईले कानुनी र राजनीतिक बहसलाई नयाँ मोड दिएको छ ।


















