निजगढ,हरिबोधिनी एकादशीको अवसरमा मंगलवार निजगढ नगरपालिका वडा नम्बर १३ को शिवशक्तेश्वर महादेव मन्दिरहरुमा दर्शनार्थीको घुइँचो लागेको छ । सो अवसरमा मंगलवार बिहानैदेखि शक्ति खोला किनारामा भेला भएर श्रद्धालु भक्तजनहरुले महादेव मन्दिरपूजा गरेका हुन ।बारा र मकवानपुर जिल्ला तथा सीमा क्षेत्रमा पर्ने भारतीय गाउँबाट समेत हजारौं श्रद्धालुहरु शक्ति खोलामा पुगेकोनिजगढ नगरपालिका वडा नम्बर १३ का वडा अध्यक्ष सूर्य घलानले बताउनुभयो । उहाँले करीव २५ हजार भक्तजनले मन्दिरको दर्शन र पूजा गरेको जानकारी दिनुभयो । पर्वलाई लक्षित गरेर स्थानीय पर्व विदाबाट कट्टा हुने गरी मंगलवार वडाभित्र रहेका सामुदायिक विद्यालयहरुमा विदा दिइएको समेत वडा अध्यक्ष घलानले जानकारी दिनुभयो ।

श्रद्धालुहरुले भगवान विष्णुलाई खुसी पार्नभन्दै मन्दिर परिसरमा नदीको दुबै किनारा जोडने गरी तोरण फूलपातिको टाँगेका थिए । त्यसैगरी उनीहरुले शक्ति खोलाको पानीमा घरबाट श्रद्धापूर्वक तयार पारेर लगेको फूल र माला पनि बगाएका छन ।
असार शुक्ल एकादशी अर्थात हरिशयनी एकादशीदेखि कात्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशीका दिनसम्म तुलसीको विशेष पूजा गर्ने शास्त्रीय विधि छ ।

कात्तिक शुक्ल एकादशीका दिनमा भगवान विष्णुको प्रतिकका रुपमा तुलसीको दामोदरसँग विवाह र विशेष पूजा गरी हरिबोधिनी एकादशी पर्व मनाइन्छ । हरिशयनी एकादशीका दिनमा क्षीरसागरमा सुत्नुभएका विष्णु ब्युँझनुहुने भएकाले आजको एकादशीलाई हरिबोधिनी वा प्रवोधिनी एकादशी पनि भन्ने गरिएको शास्त्रीय मान्यता छ ।हरिशयनी एकादशीका दिन घर–घरमा रोपेर विशेष पूजा गरिएको तुलसीको मठमा गाईको गोबर र रातो माटोले पोतेर सिँगारी फूल मालाले सजाएर मंगलवार विवाह गरिएको थियो । तुलसी विष्णुप्रिया भएकाले यस दिन तुलसीको दामोदरसँग विवाह गर्ने परम्परा बसेको हो । कात्तिक महिनाभर सबै देवदेवी तुलसीमै निवास गर्छन् भन्ने धार्मिक विश्वास छ ।त्यसैगरी काठमाण्डौ उपत्यकाका चार नारायण, भक्तपुरको चाँगुनारायण, ललितपुरको विशङ्खुनारायण, काठमाण्डौका शेषनारायण र इचँगुनारायणमा विशेष मेला लाग्छ । त्यस्तै काठमाण्डौको उत्तरी क्षेत्रमा रहेको बूढानीलकण्ठ नारायणस्थानको दर्शन गर्दा चार नारायणको दर्शन र पूजा गरे बराबरको फल पाइने विश्वास पनि गरिन्छ ।

Leave a Reply