कृष्णउदास खनाल
वीरगञ्ज, पर्सा प्रहरीले गोली चलाएर एक जना कुख्यात भारतीय अपराधिलाई पक्राउ गरेको छ ।आइतबार राति ११ बजेतिर वीरगञ्ज महानगरपालिका– १६ मा प्रहरीले गोली चलाएर भारतको रक्सौल चम्पारन बस्ने वर्ष ४५ को बब्लु पासवान भन्ने गणेश कुमारलाई नियन्त्रणमा लिएको पर्सा प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाले जानकारी दिनुभयो ।

काठमाडौंको गोठाटारमा मारिएका लाल मोहम्मदको हत्यामा पनि उनी संलग्न भएको प्रहरीको अनुमान छ । प्रवक्ता थापाका अनुसार लाल मोहम्मद हत्यामा संलग्न देखिएको भन्दै थप अनुसन्धान जारी रहेको बताउनुभयो । उनलाई खुट्टामा गोली लागेको र उपचार पश्चात् अहिले प्रहरी नियन्त्रणमा छन् । उनको साथबाट प्रहरीले लागूऔषध ब्राउन सुगर र पेस्तोल र दुई थान गोली समेत बरामद गरेको विवरण समेत सोमवार पत्रकार सम्मेलन गरी पर्सा प्रहरीले सार्वजनिक गरेको छ ।

प्रहरीकाअनुसार पासवान व्यवसायी सुरेश केडियाको अपहरणमा दुई वर्ष जेल बसेर छुटेका व्यक्ति हुन् । ३ असोज २०७९ मा काठमाडौंको गोठाटारमा अज्ञात समूहको गोली लागेर मोहम्मद मारिएका थिए । उनी मारिएपछि भारतीय सञ्चारमाध्यमहरुमा मोहम्मदलाई पाकिस्तानी गुप्तचर एजेन्सी आईएसआईसँग जोडेर प्रचार गरिएको थियो । उनी मारिनुअघि नेपाल प्रहरीसँग मोहम्मदबारे भारतीय पक्षले चासो राख्दै आएको थियो । हत्यामा प्रयोग भएको हतियार पासवानले नै व्यवस्थापन गरेको प्रहरीको भनाई छ । घटना भएका बेला उनी गोठाटारमै भएको समेत आशंका छ ।
आफ्नो मुलुकविरुद्ध गतिविधि गर्दै आएको आरोप लागेका व्यक्तिहरुलाई भारतले छिमेकी मुलुकमा पेशेवर अपराधी वा विभिन्न व्यक्तिलाई प्रयोग गरेर हत्या गर्ने गरेको आरोप लाग्दै आएको छ ।

सभासद् मिर्जा दिलसाद बेगपछि दुई दशकमा दश नेपाली मूलका मुस्लिम नागरिकमाथि अज्ञात गिरोहले गोली दागेको छ । उनीहरु आईएसआई एजेन्ट भएको भारतीय पक्षको दाबी हुन्छ, तर प्रहरी अनुसन्धान अधिकांश घटनामा निष्कर्षसम्म पुगेको छैन । गोठाटारमा मोहम्मदको हत्या पनि त्यसैको श्रृंखला हुनसक्ने सुरक्षा सम्बद्ध स्रोतको भनाई छ ।
मोहम्मद प्रकरणमा पासवानको भूमिका
प्रहरीकाअनुसार गणेशकुमार समेत भनिने पासवान भारत, मोतिहारीस्थित रक्सौलका स्थायी बासिन्दा हुन् । आन्दाजी ४१ वर्षका उनले मोहम्मद हत्यामा प्रयोग भएको हतियार व्यवस्थापन गरिदिएका थिए ।रक्सौलबाट पासवानले पेस्तोल र त्यसमा लाग्ने गोली वीरगञ्जका २१ वर्षीय महोरम मियाँ र १९ वर्षका रेहान मियाँलाई पठाएका थिए । उनीहरुले काठमाडौंमा आएर बब्लुले प्रयोग गरेका ‘दिनेश’ भनिने व्यक्तिलाई हतियार दिएका हुन ।त्यसवापत बब्दुले उनीहरुलाई ४० हजार रुपैयाँ दिने बताएका थिए । हाल फरार रहेका नितिन मदनले व्यवस्थापन गरेको मोहम्मदको घर नजिकैको ‘कोशी पारि गेष्ट हाउस’ मा सुटरहरु बसेका थिए ।

मोहम्मद मारिनु केहीअघिदेखि सुमी भनिने सुस्मिता स्याङ्तान र मेरिना भनिने ममता तिवारीले मोहम्मदको रेकी गरेका थिए । त्यसबेला मोहम्मदको सम्पूर्ण ‘मुभमेन्ट’को विवरण ह्वाट्स एपमार्फत भारतमा पासवानलाई पठाएको भेटिएको थियो ।अनुसन्धानमा संलग्न अधिकृतहरुका अनुसार उनको मोबाइलमा मोहम्मद मारिनुअघिको फोटो तथा भिडियोहरु पठाइएको थियो ।प्रहरीले १४ असोज २०७९ मा घटनामा संलग्न रहेको आरोपमा स्याङ्तानलाई पक्राउ गरेर सार्वजनिक गरेको थियो । उनले बयानका क्रममा रेकी गरेवापत बब्बुले तिवारीको खातामा डेढ लाख रुपैयाँ जम्मा गराइदिने सहमति भएको खुलाएको प्रहरीको अनुसन्धानबाट पुष्टी भएको छ ।

Leave a Reply