काठमाण्डौ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महामन्त्रीमा भूपदेव शाह चयन हुनुभएको छ ।
आज बसेको केन्द्रीय समिति बैठकले अछामका शाहलाई महामन्त्रीमा मनोनीत गर्ने निर्णय गरेको प्रवक्ता मनिष झाले जानकारी दिनुभयो । कविन्द्र बुर्लाकोटी र सुनील लम्साल यसअघि महामन्त्री रहेकामा अब शाह पनि थपिनुभएको हो ।यस्तै बैठकले सचिवालय सदस्यमा सागर ढकाल र सरिताश्री ज्ञवालीलाई मनोनीत गर्ने निर्णय गरेको प्रवक्ता मनिष झाले जानकारी दिनुभयो ।
यस्तै बैठकले केन्द्रीय सल्लाहकार परिषदमा नयाँ सदस्यहरू थपेको छ । प्रवक्ता झाका अनुसार काभ्रेका जीवन प्रभा लामा, नवलपरासी पूर्वका मोतीप्रसाद पङ्गाली, भक्तपुरका हरिप्रसाद पाण्डे र कपिलवस्तुका विष्णुहरि शर्मा केन्द्रीय सल्लाहकार परिषदमा चयन हुनुभएको हो ।त्यस्तै बैठकले सङ्घीय नेतृत्व मञ्चमा ६ जना नयाँ सदस्य थप गरेको छ । बैठकले सप्तरीका तुलसीप्रसाद चौधरी, बर्दियाका रामसिंह थारू, मोरङका जीवन धामी, कैलालीका प्रेमा चौधरी, कञ्चनपुरका नवराज राना र दाङका एकराज चौधरीलाई थप गरेको हो ।
यस्तै रास्वपाले सांसद र मन्त्रीहरूको लेबी परिमार्जन गरेको छ । अहिले चलिरहेको केन्द्रीय समिति बैठकले सांसदहरूको लेबी १५ हजार रुपैयाँ कायम गरेको छ । यसअघि १६ हजार ५०० रुपैयाँ तोकिएको थियो । मन्त्रीहरूको १८ हजार र स्वकीय सचिवको २ हजार रुपैयाँ नै कायम गरिएको प्रवक्ता झाले जानकारी दिनुभयो ।


















