सिमरा,बाराको हलखोरिया साझेदारी वन उपभोक्ता समिति डुमरबानाले एकै दिन २ वर्षको साधारण सभा गरेको छ । वर्षेनि गर्नुपर्ने समितिको साधारण सभा गत वर्ष विशेष कारणले गर्न नसकेको भन्दै शनिवार आर्थिक वर्ष २०८०÷०८१ र ०८१÷०८२ को वर्षको साधारण सभा गरेको हो ।डुमरवाना क्याम्पस परिसरमा सम्पन्न साधारण सभाको जिल्ला समन्वय समिति बाराका सभापती नरेन्द्रकुमार साहले उद्घाटन गर्नुभएको थियो । समूहका अध्यक्ष विकल्प भट्टराईको अध्यक्षता सम्पन्न साधारणसभाको डिभिजन वन कार्यालय बाराका प्रमुख राजीवकुमार झा र मधेश प्रदेश वन निर्देशनालयका निर्देशक जग्गनाथप्रसाद जयसवाल विशेष अतिथिको रूपमा उपस्थित थिए ।
अध्यक्ष भट्टराईले प्रस्तुत गरेको प्रतिवेदनअनुसार पछिल्ला दुई वर्षमा समूहले १४ हजार ४२६.४६ क्युबिक फिट काठ उत्पादन गरी ४५० उपभोक्तालाई वितरण गरेको र ५४ हेक्टर क्षेत्रमा झाडी सफा गर्दै सालका बिरुवा काठ पुनरुत्पादन कार्य सम्पन्न गरेको जानकारी दिनुभयो । आर्थिक वर्ष २०८१-८२ मा २० हेक्टर क्षेत्रमा वृक्षारोपण गरिएको उहाँले उल्लेख गर्नुभएको छ ।भट्टराईले अतिक्रमित वन क्षेत्र खाली गराइ सीमाना विस्तार र संरक्षणमा समितिले उल्लेखनीय प्रगति गरेको बताउदै वनको दीगो व्यवस्थापनमा उपभोक्ताको सक्रिय सहभागिता नै दीर्घकालीन समाधानको बाटो भएको बताउनुभएको थियो ।
साझेदारी वन समितिहरूको व्यवस्थापनलाई अझ सशक्त र पारदर्शी बनाउदै वनको संरक्षण र दीगो व्यवस्थापनमा ध्यान दिनुपर्ने आवश्यकता रहेको वक्ताहरुले बताएका थिए ।डिभिजन वन प्रमुख राजीव झा र वन निर्देशक जयसवालले मधेश प्रदेशमा वन क्षेत्र केवल चार प्रतिशतमा सीमित हुनु चिन्ताको विषय भएको बताएका थिए । उनीहरूका अनुसार, जनसंख्या वृद्धिसँगै अक्सिजन, काठ दाउरा र स्वच्छ वातावरणका लागि वन क्षेत्र विस्तार अब अपरिहार्य भएको छ ।
प्रमुख अतिथि समन्वय समितिका प्रमुख साहले पछिल्ला वर्षहरूमा साझेदारी र सामुदायिक वन समितिहरूले अतिक्रमण नियन्त्रण र वृक्षारोपणका माध्यमबाट वन संरक्षणमा ल्याएको सुधार प्रशंसनीय रहेको बताउनुभयो ।
जिल्लाको पहिलो साझेदारी वनको रुपमा रहेको हलखोरिया वन २०३८.४६ हेक्टर क्षेत्रफलमा फैलिएको छ ।


















