धिरेन्द्र तिवारी
कलैया,जिल्ला प्रशासन कार्यालय बारा र जिल्ला प्रहरी कार्यालय बाराबाट संयुक्त रूपमा खटिएको टोलीले कलैया उपमहानगरपालिका वडा नम्बर २३ कोईरियाटोलामा रहेको श्रीकुश कृषक संस्था लिमिटेडमा सोमवार शीलबन्दी गरेको छ ।
रसायनिक मलको कालोबजारी गरि बिक्री वितरण गरिरहेको उजुरी जिल्ला प्रहरी कार्यालय बारामा परेपछि उक्तसंस्थामा शीलबन्दी गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रमुख प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी गराउनुभएकोहो।
नेपाल सरकार तथा कृषि सामग्री कम्पनी लिमिटेडले युरिया प्रतिबोरा ७ सय ८० र डिएपी प्रतिबोरा २ हजार २ सय ५० मा बिक्री वितरण गर्न मूल्य तोकेको भए पनि श्रीकुश कृषिक संस्था लिमिटेडका अध्यक्ष अरुण कुशवाहाले बिल बिना नै युरिया प्रतिबोरा १ हजार २ सय ५० र डिएपी प्रतिबोरा २ हजार ८ सयदेखि ३ हजार २ सयसम्ममा बिक्रीवितरण गरिएको उजुरी परेपछि जिल्ला प्रशासन कार्यालय बाराका सुब्बा अरुण साह र जिल्ला प्रहरी कार्यालय बाराबाट प्रहरी निरीक्षक रामकाजी थापा लगायतको संयुक्त टोलीले करिब २०० सय बोरा भण्डार गरि राखिएको संस्थाको गोदाम घरमा कलैया उपमहानगरपालिका वडा नम्बर २३ का वडा अध्यक्ष अमिन अन्सारी र सन्चारकर्मीलगायतको उपस्थितमा शीलबन्दी गरेको हो ।
कुशवाहाले कलैया उपमहानगरपालिकाको विभिन्न कृषि संस्थाहरुबाट ल्याएर कालोबजारी गर्ने मनसायले रसायनिक मल गोदाममा लुकाएर राखेको पाइएको जिल्ला प्रहरी कार्यालय बाराले जानकारी गराएको छ ।
कुशवाहालाई जिल्ला प्रहरी कार्यालयले कालोबजारीको सम्बन्धि मुद्दा दार्ता गरि अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिनुभयो ।