दुष्यन्त चौधरी
कलैया , १९ कार्तिक । बारामा मंगलबार सरुवा भई कार्यभार सम्हाल्न आएका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रलाई युथ अफ बारा का प्रतिनिधि टोलीले मानवट – मटिअर्वा सडक खण्ड अन्तरगतको कलैयाको अधुरो सडक निर्माण कार्य छिटो छरितो रूपमा सम्पन्न गर्न आग्रह गर्दै ज्ञापनपत्र बुझाएको छ ।
कलैयाको करिब ३ किलोमिटर लामो सडक लामो समयदेखि अधुरो रहेकाले स्थानीयवासीहरू दैनिक सास्ती भोगिरहेका छन् । उक्त समस्यालाई मध्यनजर गर्दै युथ अफ बाराको टोलीले आवश्यक सुरक्षा व्यवस्था मिलाउँदै, सम्बन्धित सरोकारवाला निकायहरू — विद्युत, खानेपानी, नगरपालिका र नेपाल टेलिकम — सँग सहकार्य र समन्वय गरेर काम अवरोधरहित रूपमा सम्पन्न गर्न माग गरेको हो ।
ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले सडक निर्माण कार्यलाई प्राथमिकतामा राखी आफ्नो तर्फबाट पूरा सहयोग र सहजीकरण गर्ने प्रतिबद्धता जनाउनुभएको छ । ज्ञापनपत्र बुझाउने टोलीमा सौरभ पाण्डे, संजय चौधरी लगायतका युवा कार्यकर्ता उपस्थित रहेका थिए ।


















