बारा जिल्ला भौगोलिक रुपमा सरल भएपनि सडक सुविधाको दृष्टिले देशका अन्य जिल्लाहरुको तुलनामा अझै पछाडि नै छ ।बाराको मानमत–मटिअर्वा सडकखण्ड अन्तर्गत कलैया उपमहानगरपालिकाको बजार क्षेत्रमा पर्ने साढे ३ किलोमिटर सडक निर्माणका लागि दबाब दिने उद्देश्यले शुरु गरिएको अभियानबाट पनि यो कुरा पुष्टि हुन्छ ।
स्थानीय युवाहरुले ठेक्का लागेर पनि अलपत्र परेको सडक निर्माणको लागि दबाब दिन हस्ताक्षर अभियान चलाएका छन् । वर्षौदेखि अलपत्र पारिएको सडक निर्माणमा ठेकेदार कम्पनीलाई दबाब दिन जिल्ला सदरमुकाम कलैयाको भरतचोकमा स्थानीय युवाहरूले गत असोज ३१ गते (शुक्रबार) बाट शुरु गरेको हस्ताक्षर अभियानमा अन्तर्गत व्यवसायी, सर्वसाधारण र राजनीतिक दलका कार्यकर्ताले हस्ताक्षर गरेका हुन ।
अभियानकर्ताहरुले पाँच हजार बढीले हस्ताक्षर मार्फत सडक निर्माणको काम तत्काल शुरु गर्न माग गरेका छन ।कलैयाका स्वतन्त्र युवा सौरभ चौगाई, सौरभ पाण्डे, सुमित पटेल, बिक्की गुप्ता, सुरज साह, अमित तिवारी र संजय चौधरीलगायतको नेतृत्वमा अभियान शुरु गरिएको हो । चौधरीका अनुसार चाडपर्वका कारण करिब चार दिन अभियान स्थगित भए पनि आइतबारदेखि पुनः निरन्तर रूपमा हस्ताक्षर संकलन जारी छ ।
सडक निर्माणको जिम्मा पाएको भारतीय कम्पनी भिस्वा कन्स्ट्रक्सनले २०६८ सालमा बाराको मटिअर्वा–मानमत सडकखण्ड (२७ किलोमिटर) कालोपत्रे गर्ने कार्य सुरु गरेको थियो । तर, हुलाकी मार्ग आयोजना अन्तर्गत कम्पनीले त्यसबेला २३ किलोमिटर मात्रै कालोपत्रे गरी कलैया बजार क्षेत्रको साढे ३ किलोमिटर अधुरै छाडेको थियो ।१४ वर्ष बितिसक्दा पनि सो अधुरो सडक खण्डमा अहिलेसम्म काम हुन नसकेका कारण स्थानीयले असन्तुष्टि जनाउँदै दबाब अभियान शुरु गरेका हुन् र अब सडक पनि नागरिकहरुको जीवन भएकाले यसको निर्माण अति आवश्यक छ ।















