कलैया,बारा प्रहरीले प्रतिबन्धित लागूपदार्थ खैरो हेरोइनसहित जिल्लाको प्रसौनी गाउँपालिका– ३ नौतनबाट बिहीवार एक जनालाई नियन्त्रणमा लिएको छ ।वीरगञ्जबाट प्रसौनीतर्फ पैदल आउँदै गरेको अवस्थामा शंका लागेर प्रहरीले गरेको चेकजाँचको क्रममा पर्साको पटेर्वा सुगौली गाउँपालिका– ३ सानो देउती निवासी ४२ वर्षीय रामाशंकर दासलाई खैरो हिरोइनसहित नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय प्रसौनीका प्रहरी निरीक्षक टुपेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।
दासले लगाएको पाइन्टको बाँया गोजी खानतलासी गर्दा कागजमा बेरिएको खैरो हेरोइन जस्तो देखिने पदार्थ १९.७८० मिलिग्राम फेला परेको उहाँले जानकारी दिनुभयो । नियन्त्रणमा लिएपछि पनि भाग्ने प्रयास गरेका दासलाई लखेटेर नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।दासलाई इलाका प्रहरी कार्यालय प्रसौनीमा राखी थप अनुसन्धान भइरहेको छ ।


















