रौतहट, २१ असोज । लगातारको वर्षापछि आएको बाढीका कारण रौतहटको सदरमुकाम गौर आजसम्म पनि डुबानमुक्त हुन सकेको छैन। गत सातादेखि परेको अविरल वर्षाले जिल्लाका बागमती र लालबकैया नदीमा पानीको सतह बढेपछि सदरमुकामसहितका बस्तीहरू जलमग्न भएका हुन्।

गौर–चन्द्रनिगाहपुर मुख्य सडकखण्ड अन्तर्गत गौर नगरपालिका–६ सबगढा गाउँ नजिकको लच्कामा तीव्र पानीको बहावका कारण आवागमन पूर्णरूपमा अवरुद्ध भएको छ। अहिले गौर बजारबाट करिब पाँच किलोमिटर उत्तर सबगढासम्म मात्र सवारीसाधन पुग्न सक्ने अवस्था छ। त्यहाँबाट गौरसम्म पैदल हिँड्न समेत कठिन भएको स्थानीयवासीले बताएका छन्।

स्थानीयवासीका अनुसार, भारतको सीमा क्षेत्रमा बनेको बाँधका कारण प्रत्येक वर्ष गौर क्षेत्रमा डुबान दोहोरिने गरेको छ। यस वर्ष पनि सोही कारणले पानीको निकास हुन नसक्दा समस्या झन् गम्भीर बनेको छ।

सोमबारदेखि मौसम खुलिसकेको भए पनि गौर बजार अझै पनि जलमग्न रहेको छ। बजार क्षेत्रका अधिकांश घर, पसल र सडकमा कम्तीमा दुईदेखि तीन फिटसम्म पानी जमेको छ। यसले गर्दा स्थानीय बासिन्दा र व्यापारीहरूलाई आवतजावत र कारोबारमा ठूलो समस्या परेको छ। डुबानका कारण जिल्लास्थित सरकारी कार्यालयहरू सञ्चालनमा आउन सकेका छैनन्, जसका कारण सेवाग्राहीहरू मर्कामा परेका छन्।

बागमती र लालबकैया नदीको पानी केही घटे पनि गौर बजारको पानी निकास नहुँदा डुबानको अवस्था यथावत छ। नेपाल–भारत आवागमनसमेत प्रभावित बनेको छ। सशस्त्र प्रहरी बल र स्थानीय प्रशासनले रबर बोटमार्फत बाढीपीडितलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने कार्य निरन्तर गरिरहेका छन्।

त्यस्तै, बौधीमाइ नगरपालिका–इनरवारी हुँदै देवाही गोनाही जाने बाटो पनि बाढीले अवरुद्ध बनाएको छ। जयनगर–कलैया सडकखण्ड अन्तर्गत सनारानिया गाउँभन्दा पश्चिमतर्फ करिब सातदेखि आठ फिटसम्म कालोपत्रे सडक बगाएपछि सवारी आवागमन ठप्प छ। स्थानीयवासीहरूले बाँसको लच्का प्रयोग गरेर पैदल, साइकल र मोटरसाइकल पार गरिरहेका छन्।

बाढीका कारण गौरसहित रौतहटको दक्षिणी क्षेत्रका बस्तीहरू, बजार, विद्यालय र कार्यालयहरू जलमग्न छन्। विद्युत् आपूर्ति समेत अनियमित बनेको छ। स्थानीयहरूका अनुसार, तत्काल निकास व्यवस्थापन र बाँध सुधार नगरेसम्म गौर सदरमुकाम वार्षिक रूपमा डुबानको जोखिममा रहिरहनेछ।

स्थानीय प्रशासनले राहत र उद्धार कार्यलाई प्राथमिकता दिएको बताएको छ। तर पानी नघटे सम्म सामान्य जनजीवन सहज हुन नसक्ने संकेत देखिएको छ।

Leave a Reply