कलैया,प्रदर्शनकारीहरुले बारा क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य अच्युत मैनाली, क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्य ज्वाला साह र क्षेत्र नम्बर ४ का प्रतिनिधि सभा सदस्य किसान श्रेष्ठको घरमा पनि तोडफोड र आगजनी गरेका छन । उनीहरुले सांसद श्रेष्ठको घरमा राखिएका ६ वटा जिपमा आगजनी गरेका छन ।

प्रदर्शनकारीहरुले कोल्हबीस्थित घरमा तोडफोड गरेका हुन भने जीतपुरसिमरा १६ पिलुवा रहेको सांसद साह र जीतपुरसिमरा ४ मा रहेको श्रेष्ठको घरमा आगजनी गरेका हुन । आन्दोलनकारीहरुले घरभित्रै पसेर पेट्रोल छर्किएर आगजनी गरेका हुन । सोही क्रममा जीतपुरसिमरा वडा नम्बर १५ र १६ को कार्यालयमा पनि आगजनी भएको छ ।
त्यसैगरी कलैया र जीतपुरसिमरा उपमहानगरपालिकाको कार्यालयमा पनि तोडफोड भएको छ । प्रदर्शनकारीहरुले कलैया र जीतपुरसिमराको कार्यालयमा राखिएका जिप, मोटरसाइकल र अन्य सवारी साधन पनि तोडफोड गरिएका हुन भने जीतपुरसिमराका मेयर राजन पौडेलले प्रयोग गर्ने कार्यालयको गाडीमा पनि आगजनी गरेका छन । उनीहरुले डिभिजन वन कार्यालय बारा र आन्तरिक राजश्व कार्यालय सिमरामा पनि आगजनी गरेका छन ।
त्यस्तै कलैयास्थित उपराष्ट्रपती रामसहाय यादव, मधेस प्रदेश सभा सदस्य रविन्द्र दास श्रेष्ठ, कलैया उपमहानगरपालिकाका मेयर विनोद साह, उपप्रुमख रोशन प्रविन, महागढीमाई नगरपालिकका मेयर उपेन्द्र यादवको कलैयास्थित आवासमा पनि तोडफोड र आगजनी गरेका छन ।त्यसैगरी कलैयामा रहेको नेपाली कांग्रेस, नेकपा एमाले र जसपा पार्टी कार्यालयमा पनि तोडफोड र कागजपत्र आगजनी गरिएको छ । एमाले पार्टी कार्यालयमा आगजानी हुन थालेपछि प्रहरीले केही सेल अश्रुग्यास प्रहार गरेको थियो ।
जिल्ला प्रशासन कार्यालय बाराले कलैया र जीतपुरसिमराको केही क्षेत्रमा जारी गरेको कफ्र्यु आदेशकै समयमा सरकारी कार्यालय र निजी भवनहरुमा आगजनी र तोडफोड भएको हो ।
विरोध प्रदर्शनलाई दृष्टिगत गर्दै बारामा मंगलवार दिउसो दुई बजेदेखि जिल्ला प्रशासन कार्यालय बाराले कलैया तथा जीतपुरसिमरा उपमहानगरपालिकामा लागु हुने गरी निषेधाज्ञा (कफ्र्यु) जारी गरेको थियो ।बाराका प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेलले एक सूचना जारी गरी दुई बजेदेखि बेलुका आठ बजेसम्म लागू हुने गरी कफ्र्यु आदेश जारी गर्नुभएको हो ।
स्थानीय प्रशासन ऐन २०२८ को दफा क बमोजिम जारी गरिएको सो आदेशमा कलैया उपमहानगरपालिकाको चार किल्ला तोकी सो सीमानाभित्र तथा जीतपुरसिमरा उपमहानगरपालिकाको तोकिएको क्षेत्रमा कसैले आवत जावत गर्न, कुनै पनि प्रकारको जुलुश, प्रदर्शन, सभा बैठक, घेराउ गर्न नपाइने भनिएको छ ।
आदेशमा कलैयाको पूर्वतर्फ पसाहा खोला, पश्चिममा गण्डक नहर, उत्तरमा बडहर्वा चोक, दक्षिणमा दुर्गा उच्च माध्यमिक विद्यालय एवम् गण्डक नहरदेखि पथलैया सडकखण्ड राजमार्गको दायाँ बायाँ दुई सय मिटरसम्म यो आदेश प्रभावी हुने जनाइएको छ।
निजगढमा‘जेन जी’ : नगरपालिका, वडा, सामुदायिक वन र पार्टी कार्यालयमा आगजनी
निजगढ,‘जेन जी’ को आन्दोलनको क्रममा काठमाण्डौंमा सोमवार भएको प्रदर्शनमा दर्जनौं युवा÷विद्यार्थीको मृत्यु भएपछि आक्रोशित बनेका प्रदर्शनकारीहरुले मंगलवार निजगढ नगरपालिका कार्यालयसहित वडा कार्यालय र मुख्य राजनीतिक दलहरुको कार्यालयमा तोडफोड र आगजनी गरेका छन ।
आन्दोलनकारीहरुले निजगढ ७ स्थित नगरपालिका कार्यालयभित्र प्रवेश गरी कागजपत्र, उपकरण र फर्निचरमा लागजनी गरेका हुन । आगजनीबाट कार्यालयको प्रशासन शाखा, शिक्षा युवा तथा खेलकुद शाखा, स्वास्थ्य शाखा र लेखा शाखाको कागजपत्र जलेर पुर्ण रुपमा नष्ट भएको छ । स्वास्थ शाखाको स्टोरमा रहेको औषधि र उपकरणसमेत जलेर नष्ट भएको छ ।आक्रोशित प्रदर्शनकारीहरुले कार्यालयभित्र रहेको कम्प्युटर, एसी, ल्यापटप, फर्निचरलगायतका सामग्री बाहिर निकालेर आगजनी गरेका थिए ।
आगजनीबाट कार्यालयमा रहेका महत्वपूर्ण सामग्रीहरु जलेर नष्ट भएको कार्यालयका एक कर्मचारीले जानकारी दिए ।
त्यसैगरी सोही समूहले निजगढ वडा नम्बर ४, ५, ६, ७, ८, ९ र १२नम्बर वडा कार्यालयमा पनि आगजनी गरेका छन । आन्दोलनकारीहरुले कार्यालयभित्र रहेको कम्प्युटर, प्रिन्टर, फोटोकपी मेसिन, फर्निचार र कागजपत्र बाहिर सडकमा राखेर आगो लगाएका हुन । नगरपालिका कार्यालयमा तोडफोड र आगजनीपछि उनीहरुले वडा कार्यालयमा आगजनी गरेका हुन । ४ नम्बर वडा कार्यालयमा भने भित्रै आगो लगाइएको छ । वडा कार्यालयसंगै रहेको बाघ भैरव सामुदायिक वन समूहको कार्यालयमा पनि आगो लगाएका छन । आगजनीबाट कार्यालयमा रहेका सबै कागजपत्र र सामग्री जलेर नष्ट भएका छन ।
वडा नम्बर ५ मा आगजनीपछि फर्किने क्रममा सोही समूहका युवाहरुले नगरप्रमुख सुरथ पुरीको घर अगाडि सडकमा पनि आगो बालेर प्रदर्शन गरेका थिए ।
उता, सिंगौलस्ति निजगढ नगरपालिका वडा नम्बर १, २ र ३ को कार्यालय पनि तोडफोड र आगजनी गरिएको छ । स्थानीयहरुको एउटा समूहले वडा कार्यालयको फर्निचर, कागजपत्र र अन्य सामग्रीहरु बाहिर ल्याएर आगो लगाएका थिए ।
यसअघि बिहानदेखि नै निजगढस्थित पूर्वपश्चिम राजमार्गको शहिद चोकमा सडक अवरुद्ध पारेका प्रदर्शनकारीहरुले नेपाली काग्रेश, नेकपा एमाले, नेकपा माओवादी कार्यालयको फर्निचर, कागजपत्र र अन्य सामाग्रीमा आगजनी गरेका छन । प्रदर्शनकारीहरुले कार्यालयमा प्रवेश गरी भित्र रहेका सामग्री राजमार्गमा ल्याएर आगजनी गरेका हुन ।
रौतहटमा कार्यालय, घर र सवारीसाधनमा आगजनी
रौतहट,आन्दोलनकारीहरुले मङ्गलवार रौतहटको विभिन्न पालिकामा आगजनी गरेका छन ।
जेएन जीको प्रर्दशनमा हस्तक्षेप र प्रहरीको गोली प्रहारबाट बालबालिकाको मृत्यु भएकोभन्दै मङ्गलवार रौतहटमा आन्दोलनकारीले गौर, चन्द्रपुर र मौलापुर नगरपालिका कार्यालयमा आगजनी गरेका हुन ।
गौरमा नेपाली काग्रेस पार्टी कार्यालयमा तोडफोड समेत गरेका छन । सोमवार काठमाण्डौमा भएको जेएनजीको प्रर्दशनमा प्रहरीको गोली लागेर २० जनाको मृत्यु भएपछि उग्र भएको आन्दोलनले हिसात्मकरुप लिएको हो ।
आन्दोलनकारीले ईलाका प्रहरी कार्यालय चन्दनिगाहपुर कब्जा गर्नुको साथै तीन वटा सबारी साधन, बरामद गरिएका मोटरसाइकल, प्रहरीको एक थान राइफल जलाएका छन । आन्दोलनकारी उग्र हुन थालेपछि प्रहरीले थुनुवालाई छाडेर आफै कार्यालयबाट बाहिरिएका थिए ।
यस्तै आन्दोलनकारीले जिल्ला ट्राफिक प्रहरी कार्यालयको भवन र सबारी साधनमा आगजनी गरेका छन । चन्द्रपुर नगरपालिकाको कार्यालयमा आगजनी गर्नुको साथै नगरपालिकाको सवारी साधन, सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरको सवारी साधन, प्रतिनिधि सभा सदस्य देबप्रसाद तिमल्सिनाको घरमा रहेको प्रदेश कोलेनिका कार्यालयको सवारी साधन, पूर्वप्रधानमन्त्री एवं नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको घर तोडफोड गर्नुको साथै सो घर भाडा लिएर कार्यालय संचालन गर्दै आएको ग्रामीण विकास केन्द्र नेपालको कार्यालयको कागजपत्र जलाएका छन ।
यस्तै चन्द्रपुर नगरपालिकाका प्रमुख सञ्जय काफलेको घरमा समेत तोडफोड गर्नुको साथै घरका सामानहरु जलाएका छन ।
आन्दोलन चर्किँदै गएपछि जिल्ला प्रशासन कार्यालय रौतहटले चन्द्रपुर, गरुडा र गौर नगरपालिकामा दिउँसो ११ः३० बजेदेखि कफ्र्यु आदेश जारी गरेको छ । प्रशासनका अनुसार सुरक्षालाई मध्यनजर गर्दै अनिश्चितकालका लागि कफ्र्यु लागू गरिएको हो ।















