निजगढ,निजगढ नगरपालिका वडा नम्बर ८ स्थित बकैया नागमणी सामुदायिक वन समूहमा नयाँ कार्यसमिति सहमति चयन गर्न बोलाउने भनिएको सर्वपक्षीय भेला नभएपछि निर्वाचन प्रक्रिया थप अन्यौलमा परेको छ ।यसअघि समिति गठन गर्ने विषयमा छलफल गर्न गत शनीवार बोलाइएको समूहका अगुवा उपभोक्ताहरुको भेला निष्कर्षमा पुग्न नसकेपछि वडा नम्बर ८ को कार्यालयले गत बिहीवार अर्को बैठक बोलाएर सहमतिको प्रयास गर्ने सहमति भएको थियो ।
सहमति अनुसार बिहीवार र त्यसपछि पनि भेला आयोजना हुन नसकेपछि नयाँ कार्यसमिति चयन थप अन्यौलमा परेको हो । बिहीवारपछि पनि सहमतिमा कार्यसमिति चयन गर्ने बारेमा कुनै छलफल भएको जानकारी आफूले नपाएको वन समूहका कार्यालय सचिव हरि न्यौपानेले बताउनुभयो । ‘शनीवार वडा कार्यालयको पहलमा बिहीवार अर्को भेला गर्ने भन्ने सहमति भएको थियो, न्यौपानेले भन्नुभयो, तर आजसम्म पनि बैठक बस्न सकेको छैन ।’
वडा अध्यक्ष स्वर्ण लामाले भने यसअघि तोकिएको मितिमा निजगढ नगरपालिकाको नगर सभालगायत विशेष काम परेकोले वडा कार्यालयले शनीवारको सहमति अनुसार भेला राख्न नसकेको बताउनुभयो । उहाँले आइतवारबाट सहमतिको लागि उपभोक्ताहरुलाई राखेर छलफल तयारी भएको पनि जानकारी दिनुभयो ।अध्यक्ष पदमा नेपाली काँग्रेस र नेकपा एमाले निकट वन उपभोक्ताहरुले दाबी गरेपछि समूहमा नयाँ कार्यसमिति सहमतिमा चयन हुन नसकेको हो ।अघिल्लो कार्यसमितिको म्याद समाप्त भएको लामो समय बितेको तदर्थ समितिले काम गर्दैआएको अवस्थामा डिभिजन वन कार्यालय बाराले समय नै तोकेर समिति चयन गर्न भाद्र २ गते पत्राचार गरेको थियो ।
वन कार्यालयले पठाएको पत्रमा यही भाद्र महीनाको मसान्तभित्र नयाँ कार्यसमिति चयन गर्न भनिएपछि नयाँ कार्यसमिति चयन गर्न समूहलाई दवाव परेको थियो ।यसअघि कार्यसमितिको निर्वाचनको लागि मनोनयनपत्र दर्ता गर्ने क्रममा विवाद उत्पन्न भएपछि गत वैशाख २७ गतेको लागि तोकिएको निर्वाचन रोकिएको हो । मनोनयनपत्र दर्ता प्रक्रिया पूरा भइसकेपछि पनि नेकपा एमाले, माओवादी र जनमत पार्टीको संयुक्त प्यानलबाट सचिव पदकी उम्मेदवार पवित्रा चौलागाई र लेखा समितिका संयोजक प्रकाश श्रेष्ठको मनोनयन पत्र दर्ताको विषयलाई लिएर नेपाली काँग्रेस समर्थक उपभोक्ताहरुले विरोध गरेपछि निर्वाचन समितिले उम्मेदवारहरुको नामावली सार्वजनिक गर्न सकेन र निर्वाचन प्रक्रिया अन्यौलमा परेकोे थियो ।नेपाली कांग्रेसको छुट्टै प्यानल र राष्ट्रिय स्वतन्त्र पार्टीले पनि अध्यक्षसहित २ जना सदस्यहरुलाई उम्मेदवार बनाएको छ ।
















