वीरगञ्ज,पर्साका दुई जना प्रतिबन्धित लागुऔषध गाँजासहित हेटौडाबाट पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय नेवारपानी मकवानपुरबाट खटिएको टोलीले पूर्वपश्चिम राजमार्ग सडकखण्डमा सवारी साधनहरुको चेकजाँच गर्दा ११ किलो लागुऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको हो ।
नारायणगढबाट हेटौडा हुदै गौरतर्फ जाँदै गरेको लु. १ ख ७३९५ नम्बरको यात्रुबाहक बसमा सवार दुई जनालाई शंकास्पद अवस्थामा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।बसमा सवार पर्साको सखुवा प्रसौनी गाउँपालिका वडा नम्बर १ का ४२ वर्षीय सुरेश दास थारु र पर्साकै पर्सागढी नगरपालिका वडा नम्बर २ का २९ वर्षीय अर्जुन महतो थारु पक्राउ परेका छन् । बसबाट ओरालेर रितपुर्वक खानतलासी गर्दा उनीहरूले बोकेको झोलाबाट ११ किलो लागुऔषध गाँजा फेला परेको प्रहरीले जनाएको छ ।उनीहरुलाई पक्राउ गरी मकवानपुर जिल्ला अदालत हेटौडाबाट ७ दिनको म्याद थप अनुमती लिइ अनुसन्धान कार्य जारी रहेको प्रहरीले जानकारी दिएको छ ।