निजगढ,बाराको निजगढ नगरपालिका वडा नम्बर १० लालमा तेस्रो ल्होछार कप नकाउट फुटबल प्रतियोगिता आगामी माघ ३ देखि सञ्चालन हुने भएको छ ।योङ स्टार युनाईटेड क्लबको आयोजनामा बुद्धचोक फुटबल मैदानमा तेस्रो ल्होछार कप नकाउट फुटबल प्रतियोगिता सञ्चालन हुने आयोजकले सोमवार पत्रकार सम्मेलन गरेर जानकारी गराएको हो ।
तामाङ समुदायको नयाँ वर्षको अवसरमा आयोजना हुँदै आएको प्रतियोगिताको तेस्रो संस्करणबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा क्लबका सल्लाहकार कुमार मोक्तानले प्रतियोगितामार्फत युवाहरुलाई खेलप्रति आकर्षण र खेलाडीको व्यवसायिक वातावरण बनाउने उद्देश्य रहेको बताउनुभयो ।

ल्होछार कप नकाउट फुटबल नगरकै सर्वाधिक पुरस्कार राशीको प्रतियोगिता बनेको छ । प्रतियोगिताको विजयी टिमले दुई लाख र उपविजेताले एक लाख प्राप्त गर्ने क्लबका सल्लाहकार मोक्तानले जानकारी दिनुभयो ।१२ लाख अनुमानित खर्च रहेको प्रतियोगिता सञ्चालन गर्न १० नम्बर वडा कार्यालयले तीन लाख बजेट विनियोजन गरेको वडा सदस्य मेघराज वाईवाले जानकारी दिनुभयो । उहाँले आगामी दिनमा थप बजेट बिनियोजन गर्ने बताउनुभयो ।

आयोजक क्लबका अध्यक्ष आशिक लामाले सोनाम ल्होछारको माध्यमबाट गाँउ र खेललाई चिनाउन सकिने भन्दै गोल्डकपकै रुपमा प्रतियोगिता सञ्चालन गर्ने योजना रहेको बताउनुभयो । अध्यक्ष लामाले प्रतियोगितामा सहभागी हुन इच्छुक १६ टिमले हालसम्मसम्पर्क गरेको जानकारी दिनुभयो ।पत्रकार सम्मेलनमा क्लबका सल्लाहकार शिद्धार्थ लोप्चनले खेलप्रति दर्शकहरुको आकर्षण बढ्दै गएकाले खेल मैदानको विकासमा स्थानीय सरकारले ध्यान दिनुपर्ने धारणा राख्नुभएको छ ।पत्रकार सम्मेलनमा क्लबका सल्लाहकार तिलक घलानले ल्होछारको अवसरमा प्रतियोगिता सञ्चालन गरेर नाचगानमात्रै हैन प्रतियोगितामार्फत खेलाडी उत्पादन गर्ने उद्देश्य पनि रहेको बताउनुभयो ।

Leave a Reply