सिम्रौनगढ,बारा प्रहरीले ठूलो परिमाणको लागूऔषध गाँजासहित सिम्रौनगढबाट एकजना महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला बाराको सिम्रौनगढ नगरपालिका वडा नम्बर २ नयका टोलकी ३५ वर्षीया रिता देवी यादव रहेकी छन् ।
ईलाका प्रहरी कार्यालय सिम्रौनगढबाट प्रहरी निरीक्षक पवन पछाईको नेतृत्वमा खटिएको प्रहरी टोलीले यादवको घरमा लुकाइछिपाइ राखेको अवस्थामा एक सय ३८ किलो ७ सय ग्राम लागूऔषध गाँजा बरामद गरेको हो ।विशेष सूचनाको आधारमा प्रहरीले उनको घरमा खोजतलास गरेको थियो । खोजतलासका क्रममा घरको खाटमुनि बोराभित्र प्लाष्टिकमा पोका पारी राखेको अवस्थामा सो परिमाणको लागूऔषध गाँजा फेला परेको बाराका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिनुभयो ।
बरामद गरिएको लागूऔषधसहित महिलालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
त्यसैगरी बारा प्रहरीले सिमराबाट बुधवार बिहान लागुऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ११ खेस्रोलका २० वर्षीय मुना यादव रहेका छन् ।ईलाका प्रहरी कार्यालय सिमराबाट असई राजहरण यादवको नेतृत्वमा खटिएको प्रहरी टोलीले पथलैयाबाट जैतापुरतर्फ जाँदै गरेको बिआर ०५ एम ७७१८ नम्बरको भारतीय मोटरसाइकललाई रोकेर जाँच गरेको थियो ।
जाँचका क्रममा उक्त मोटरसाइकलको ट्याङ्की मुनी फल्स बटम बनाई लुकाइछिपाई राखेको अवस्थामा करिब पाँच किलो लागूऔषध गाँजा फेला परेको बारा प्रहरी प्रमुख एसपी सन्तोष कुमार तामाङले जनाउनुभएको छ ।
बरामद लागूऔषध गाँजासहित यादवलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


















