कलैया,
बाराको सुबर्ण गाउँपालिका वडा नम्बर ६ मा नेकपा एमालेले शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरेको छ । एमाले पोलिटब्युरो सदस्य तथा पूर्व मन्त्री पुरुषोत्तम पौडेलको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा बोल्दै पूर्वमन्त्री पौडेलले छठ पर्वको महत्व अझ बढ्दै गएको बताउनुभयो । उहाँले छठ पर्व सबै जातजाति, धर्म र समुदायले मान्दै आएको बताउनुभयो । एक अर्को प्रसङ्गमा पूर्वमन्त्री पौडेलले नेकपा एमाले वृद्धवृद्धा र किसान मजदुरको पक्षमा काम गर्ने पार्टी भएको दाबी गर्नुभयो । उहाँले एमाले सरकारमा रहेका बेला राम्रो काम गरेको र जनतामा लोकप्रियता हासिल गरेको कारण अन्य सबै मिलेर एमालेलाई कमजोर बनाउन घेराबन्दी गरेको दाबी समेत गर्नुभयो । एमाले नेता पौडेलले विपक्षीका सबै किसिमका घेराबन्दी तोडन एमाले र एमालेका कार्यकर्ता सक्षम र तयार रहेको ठोकुवा समेत गर्नुभयो । कार्यक्रममा केन्द्रीय सदस्यहरु बलवीर चौधरी, एकबाल मिया, एमाले मधेस प्रदेश कमिटीका सचिव मनोज पौडेल, एमाले बाराका सचिव अध्यान्द पाण्डे, एमाले नेता तथा संविधानसभाका सदस्य शिवचन्द्र कुशवाहा, श्रीभगवान गिरीलगायतले बोल्नु भएको थियो । कार्यक्रममा राकेस यादबको सहजीकरण र सत्पाल यादबले स्वागत गर्नु भएको थियो ।



















