कलैया,बाराको प्रसौनी गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष बृजकिशोर कुशवाहालाई प्रहरीले पक्राउ गरेको छ। स्थानीय शिक्षक नागेश्वरकुमार यादवलाई कुटपिट गरेको आरोपमा प्रहरीले कुशवाहालाई पक्राउ गरेको हो ।
मदिरा सेवन गरेका आठ जनाको समूहले स्थानीय स्मार्ट कोचिङ्ग सेन्टरका शिक्षक यादवलाई २ दिनअघि कुटपिट गरेको आरोपमा प्रहरीले वडा अध्यक्ष कुशवाहालाई पक्राउ गरेको हो ।

वडा अध्यक्ष कुशवाहासमेतको समूहले शिक्षक यादवलाई कुटपिट गरेकोभन्दैप्रहरीमा उजुरी परेको थियो। मोबाइल पसलमा फोटोकपी गर्न गएको समयमा वडा अध्यक्षसहितको समूहले आफूमाथि आक्रमण गरेकोभन्दै पीडितले दिएको उजुरीको आधारमा उनलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) बिजयराज पण्डितले जानकारी दिनुभएको छ ।

डीएसपी पण्डितका अनुसार कुशवाहालाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको छ। वडा अध्यक्ष कुशवाहालाई यसअघि पनि कुटपिट, चेक अनादर र आपराधिक लाभसम्बन्धी तीन वटा मुद्दामा बारा जिल्ला अदालतले सजाय फैसला गरेको थियो ।

अदालतले चेक अनादर मुद्दामा तीन हजार रुपैयाँ, कुटपिटमा दुई हजार रुपैयाँ र आपराधिक लाभमा एक हजार रुपैयाँ जरिवाना तोकेको थियो। कुशवालाई जेठ ११ गते पनि बारा प्रहरीले पक्राउ गरेको थियो । बारा जिल्ला अदालतको फैसला कार्यान्यवन गर्ने क्रममा कुशवाहालाई प्रहरीले जेठ ११ गते पक्राउ गरी अदालतमा पेस गरेको थियो ।

Leave a Reply