काठमाण्डौं,इराकमा क्लोरिन ग्यास चुहावटका कारण ६ सयभन्दा धेरै तीर्थयात्री अस्पताल भर्ना भएका छन् ।
पानी प्रशोधन केन्द्रमा चुहावटको परिणाम स्वरूप क्लोरिन निल्दा श्वासप्रश्वासमा समस्या भएपछि ६ सयभन्दा धेरै शिया तीर्थयात्रीहरूलाई केही समय अस्पताल भर्ना गरिएको अधिकारीहरूलाई उद्धृत गर्दै समाचार संस्था अल जजीराले जनाएको छ ।
इराकको मध्य र दक्षिणमा रहेको दुई शिया पवित्र शहर नजफ र करबलाबीचको बाटोमा यो घटना भएको हो । यस वर्ष लाखौं शिया मुस्लिम तीर्थयात्री करबलामा जाने अपेक्षा गरिएको छ ।
यसैबीच तीर्थयात्रीहरूको सुरक्षाका लागि जिम्मेवार सुरक्षा बलले करबला–नजफ सडकमा रहेको पानी केन्द्रबाट क्लोरिन चुहावट भएको बताएको छ । दशकौंको द्वन्द्व र भ्रष्टाचारका कारण इराकका धेरैजसो पूर्वाधार जीर्ण अवस्थामा छन् ।
गएको जुलाईमा पूर्वी शहर कुटको एक शपिङ मलमा भएको आगलागीमा ६० जनाभन्दा धेरैको ज्यान गएको थियो । तीमध्ये धेरै जनाको शौचालयमा श्वास फेर्न नसकेर ज्यान गएको अधिकारीहरूले बताएका थिए ।



















