निजगढ,वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम अन्तर्गत सखुवाका रुख कटन गरिएको क्षेत्रको झाडी समयमै व्यवस्थापन नहुँदा बाराको जंगलमा मिचाहा प्रजातिका वनस्पतिको प्रकोप बढेको छ ।वैज्ञानिक वन व्यवस्थापनको नाममा ७ वर्षअघि सखुवाका माउ रुख छाडेर अन्य रुख काटिएपछि खाली बनेको क्षेत्रमा समयमै व्यवस्थापनको थप काम हुन नपाएपछि जंगलमा ओदाल, माइकेनिया, वनमारालगायत मिचाहा प्रजातिका झार र बुट्यानको प्रकोप बढेको हो ।

डिभिजन वन कार्यालय बाराका प्रमुख राजिव झाले कार्यक्रम अन्तर्गत रुख काटिएलगत्तै सरकारले कार्यक्रम नै खारेज गर्ने निर्णय गरेपछि झाडी व्यवस्थापन गर्न नपाउँदा जंगलमा हानिकारक मिचाहा प्रजातिको प्रकोप बढेको बताउनुभयो । ‘रुख काटिएको वर्षको जेष्ठदेखि असार महीनाभित्र झाडी सफा गर्नुपथ्र्यो, डिएफओ झाले भन्नुभयो, तर सरकारले कार्यविधि नै खारेज भएपछि कुनै काम गर्न पाइएन ।’ जे जस्तो अवस्थामा छ सोही अवस्थामा काम रोक्न भनेर आदेश आएकोले व्यवस्थापन सम्बन्धि काम रोक्नुपरेको उहाँले बताउनुभयो । मिचाहा प्रजातिका वनस्पति फैलिएर जंगलमा सालका नयाँ विरुवा उम्रन र हुर्कन नसकेको पनि उहाँले जानकारी दिनुभयो ।

वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम अन्तर्गत पहिलो चरणमा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिकाको हलखोरिया र गढीमाई साझेदारी वनको ३५-३५ हेक्टर तथा निजगढ नगरपालिका ७ को जनज्योति सामुदायिक वन समूहको २८.९हेक्टरमध्ये २.८ हेक्टर वनमा सालका माउ बाहेक अन्य सबै रुख कटान गरेर व्यवस्थापनको काम शुरु गरिएको थियो ।
कार्यक्रमअन्तर्गत प्रतिहेक्टर १५-२० वटासम्म सालका माउ रुख बाँकी राखेर अरु सबै कटान गरिएको हलखोरिया साझेदारी वन समितिका अध्यक्ष विकल्प भट्टराईले जानकारी दिनुभयो । ५-५ हेक्टरको ७ वटा प्लट बनाएर वन व्यवस्थापनको काम भएको र पहिलो पटक काटान गरिएको क्षेत्रमा ८० देखि १ सय वर्षपछि फेरि कटान गर्ने योजनासहित काम थालिएको उहाँले बताउनुभयो ।‘सालका रुख काटेपछि ओदानका बिरुवा एकाएक बढेर आए, अध्यक्ष भट्टराईले भन्नुभयो, हेर्दाहेर्दै खाली क्षेत्र मिचाहा प्रजातिको वनस्पतिले ढाकियो ।’ उहाँले कार्यक्रम रोकिएपछि व्यवस्थापनको काम तत्काल गर्न नसकिएपनि यो वर्षबाट झाडी सफाइ र मिचाहा प्रजातिको वनस्पति उन्मुलन गर्ने काम शुरु गरिएको जानकारी दिनुभयो ।
उहाँले वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम खारेज भएपछि हाल दिगो वन व्यवस्थापन कार्यक्रम अन्तर्गत कार्ययोजना बनाएर झाडी फडानी र वन व्यवस्थापनको काम भइरहेको जानकारी दिनुभयो ।

सोही कार्यक्रम अन्तर्गत रुख काटिएको निजगढको जनज्योति सामुदायिक वनमा भने झाडी व्यवस्थापनको काम पनि संगसंगै संचालन गरिएकाले मिचाहा वनस्पतिको प्रकोप नदेखिएको समूहका सचिव रामकुमार सिंजालीले जानकारी दिनुभयो ।‘रुख कटानसंगै झाडी सफाइ र विरुवा पत्ल्याउने काम पनि गरेका थियौं,सचिव सिंजालीले भन्नुभयो, नियमित हेरचारपछि मिचाहा प्रजातिको प्रकोप छैन ।’

Leave a Reply