सिमरा,पर्सा राष्ट्रिय निकुञ्जसँग जोडिएको अमलेखगन्ज आसपासको वन क्षेत्रमा एक महिना अघिदेखि हिंसक गतिविधि गर्दै आएको नरभक्षी बाघ अझै फेला परेको छैन ।वन सुरक्षाकर्मीहरुको खोजतलास र नियन्त्रणमा लिने प्रयासका बाबजुद पनि नरभक्षी बाघ अझै फेला पर्न नसकेको हो ।
जीतपुरसिमरा उपमहानगरपालिका– २२ अमलेखगन्जमा असार ४ गते पाटेबाघको आक्रमणबाट चन्द्रबहादुर भ्लोनको मृत्युपछि उक्त बाघको खोजी कार्य सुरु गरिएको थियो ।निकुञ्ज कार्यालय आधाभारका सूचना अधिकृत सन्तोषकुमार भगतका अनुसार निकुञ्जको वन क्षेत्रमा नपरे पनि स्थानीयको माग र आग्रहलाई मध्यनजगर गरी बाघको पहिचान, नियन्त्रण तथा निगरानीका लागि सम्भावित क्षेत्रमा क्यामरा जडान गरी क्यामेरा ट्रयापिङ गर्दा पनि बाघ कैद भएको छैन ।
‘प्रभावित क्षेत्रमा हामीले ८ वटा क्यामरा जडान गरी ट्रयापिङको प्रयास ग¥यौं, तर कुनै पनि क्यामेरामा एक पटक पनि उक्त बाघ कैद भएन ।’ उहाँले भन्नुभएको छ ।
गत असार १२ गते राष्ट्रिय प्रकृति संरक्षण कोष चितवन कार्यालयबाट डार्ट गर्ने प्राविधिक टोली झिकाएर सम्भावित क्षेत्रमा परिचालन गरिएकामा उक्त टोली पनि बाघ फेला पार्न नसकेपछि असार १२ गते फर्केको थियो ।त्यसपछि प्रभावित क्षेत्रमा बाघले पुनः पशुधन क्षति गर्न थालेपछि उक्त प्राविधिक टोली झिकाएर असार १८ देखि पाडो राखेर ‘लाइभ बाइटिङ’ प्रविधिबाट पनि डार्टिङ गर्ने प्रयास असफल भएको भगतले बताउनुभएको छ ।यसैबीचपर्सा राष्ट्रिय निकुञ्ज र वरपरका बारा जिल्लाका वन क्षेत्रमा पछिल्ला दुई वर्षमा नौ वटा पाटेबाघको मृत्यु भएको पुष्टि भएपछि वन्यजन्तु संरक्षणकर्मीहरू चिन्तित भएका छन्।
बाघको संख्या बढ्दै गएपनि मृत्युको दरले संरक्षणमा चुनौती थपिएको हो।निकुञ्ज स्रोतका अनुसार २०८० सालदेखि हालसम्म पर्सा निकुञ्ज तथा यसका सीमावर्ती वन क्षेत्रमा चारवटा वयस्क बाघ मृत अवस्थामा फेला परेका छन्।
तीमध्ये एक वाघको शवमा गोली लागेकाले शिकारसम्बन्धी शंका गरिएको छ। बाँकी बाघको मृत्युलाई विषाक्तता वा प्राकृतिक कारण भनिएपनि अनुसन्धान अझै टुंगोमा पुगेको छैन।त्यसैगरी, २०८१ साल वैशाख महिनामा पर्सा निकुञ्जको कैदशालामा राखिएका तीनवटा रेस्क्यु गरिएका बाघहरूको मृत्यु भएको थियो। तीमध्ये दुई भाले र एक पोथी बाघ थिए। लामो समयदेखि बिरामी अवस्थामा रहेका ती बाघलाई उचित पोषण र स्वास्थ्य सेवा दिन नसकिएको वन प्रशासनको स्वीकारोक्ति छ।
यसअघि २०७९ सालको असोज महिनामा पनि पर्सा र बारा जिल्लाको जंगल क्षेत्रमा दुई वटा वयस्क बाघको शव फेला परेको थियो। एक वाघको मृत्यु विषाक्त पदार्थ सेवनका कारण भएको आशंका गरिएको थियो भने अर्को बाघको मृत्यु प्राकृतिक कारण वा आहार अभावका कारण भएको अनुमान गरिएको थियो।यसको बाबजुद पर्सा राष्ट्रिय निकुञ्जमा बाघको संख्या हाल ४१ जना पुगेको सरकारी सर्वेक्षणले देखाएको छ, जो २०१८ को तुलनामा दोब्बरभन्दा बढी हो । न्यूनतम १८ बाट बढेकोले यो संख्यालाई उपलब्धीमूलक मानिएको निकुञ्जका सूचना अधिकृत सन्तोष भगतको भनाई छ ।



















