काठमाण्डौं,अमेरिकामा घर जग्गाको कारोबार घटेको छ । अघिल्लो महिना मार्चको एक तथ्याङ्क अनुसार अमेरिकामा २ दशमलव ४ प्रतिशतले घरजग्गाको कारोबार घटेको हो ।अमेरिकाको नेशनल एसोसिएसन अफ रियाल्टर्स (एनएआर) का अनुसार घर बिक्रीको वार्षिक दर ४४ लाख ४० हजारमा झरेको हो । अमेरिकी अर्थव्यवस्था चलायमान बनाउने एक महत्त्वपूर्ण क्षेत्र रियल स्टेट बजारको कारोबार घटेको विषयलाई चिन्ताको रूपमा लिइएको छ ।रियल स्टेट बजारले गएको वर्ष व्यापक आर्थिक सङ्घर्ष गर्नुपरेको थियो । कोभिड–१९ पछि देखिएको खराब अर्थतन्त्र र क्रयशक्तिमा आएको कमीका कारण घरजग्गाको कारोबार घट्न पुगेको अर्थविज्ञको भनाई छ ।धेरैजसो मानिस अहिले बाँच्नका लागि मात्रै पैसा कमाइरहेका र त्यसबाट अन्य क्षेत्रमा जस्तै घर जग्गा कारोबारमा पनि नकारात्मक असर देखिएको अर्थशास्त्री निक जोन्सनले बताउनुभएको छ ।तर, यसअघि बिक्री हुन नसकेका भनिएको घरहरू भने अघिल्लो महिना फेब्रुअरीको तुलनामा मार्चको अन्त्यसम्म एक प्रतिशतले बढेर ९ लाख ८० हजार पुगेको एनएआरले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ ।
















