बरियारपुर,बाराको महागढीमाई नगरपालिकामा सञ्चालनमा रहेका मापदण्ड विपरीतका औषधी पसल औषधी व्यवस्था विभागको टोलिले बन्द गराएको छ । औषधी विक्री गर्ने अनुमित पत्र नलिएको तथा प्रतिबन्धीत औषधीहरु विक्री वितरण गरेको भन्दै पसलहरु बन्द गराइएको हो । औषधी व्यवस्था विभाग बीरगन्जको टोलिले बजारमा नियम विपरीत सञ्चालनमा रहेका ६ वटा औषधी पसल बन्द गराएको छ ।
प्रहरी सहित खटिएको विभागको टोलिले पसलहरु बन्द गराएको जनाएको छ । बन्द गरिएका पसलका सञ्चालकहरुलाई तीन दिन भित्र विभागको कार्यालयमा सम्पर्क गर्न भनिएको छ । औषधी व्यवस्था विभागका अनुसार बिना अनुमति औषधी पसल सञ्चालन गर्न पाईदैन । औषधी पसल सञ्चालन गर्न सञ्चालक फार्मेसी अध्ययन गरेको हुनुपर्ने व्यवस्था छ ।पुर्वसुचना बिना विभागले छापामारी शैलीमा औषधी पसल बन्द गराएको भन्दै स्थानिय मेडिकल सञ्चालकहरुले दुखेसो पोखेका छन् ।