काठमाण्डौं,नेकपा एमालेका सांसद तथा पूर्वपर्यटन मन्त्री योगेश भट्टराईले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा राज्यकै निकायहरूले अवरोध गरेको आरोप लगाउनुभएको छ ।शुक्रवार राजधानीमा नेपाल नागरिक उड्डयन प्राधिकरणले आयोजना गरेको ‘एभियसन मिट’ कार्यक्रममा बोल्दै उहाँले आयोजना राज्यकै निकायले रोक्नु दुःखद् रहेको बताउनुभयो । ‘निजगढ आयोजनामा अवरोध गर्नु भनेको विकासमा अवरोध खडा गर्नु हो, नेपाललाई अगाडि जान नदिनु हो, यस काममा नेपाल भित्रकै मानिस लाग्नु दुःखद् हो,’ उहाँले भन्नुभयो ।यो आयोजनामा वातावरणको मुद्दाका कारण सर्वोच्च अदालतबाट रद्द भएको थियो । पछि अदालतबाटै पूर्ण पाठ आएपछि भने आयोजना पुनः प्रक्रियामा अगाडि बढेको छ । यसअघि अदालतले विमानस्थल निर्माण कार्यमा अवरोध हुने गरी दिएको आन्तरिम आदेशतर्फ लक्षित गर्दै राज्यका निकायहरुले नै आफ्नो क्षेत्राधिकार बाहिर गएर विकास निर्माणका काममा भाँजो हाल्ने काम गर्दै आएका छन भन्नुभयो ।


















