हेटौंडा – बागमती प्रदेशसभाको आज बसेको बैठकले १ वटा विधेयक पारित गरेको छ । बैठकमा प्रदेश दुध विकास बोर्ड २०७५ लाई संशोधन गर्न बनेको विधेयक २०७६ लाई सर्वसहमतिले पारित गरेको हो । उक्त बैठकमा कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री दावा दोर्जे लामाले सो विधेयक पारित गरियोस् भनि प्रस्ताब प्रस्तुत गरेका थिए । बैठकमा मन्त्री लामाले छलफलमा सदस्यहरुले उठाएको जिज्ञासाहरुलाई उत्तर दिँदै प्रदेशभित्र दुध जन्य पदार्थको उत्पादनको लागि दुध विकास बोर्ड ऐनको मातहतमा रही दुध उत्पादन गर्ने प्रशासकीय भवनको निर्माण, उपकरण खरिद गर्न र कृषकहरुलाई पशुपालनका लागि ऋण उपलब्ध गराउने कार्यप्रति प्रमाणित गर्न ऐनमा थप संशोधन गर्न आवश्यकता परेको बताए ।
सो बैठकमा बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशभित्र सुशासनको प्रत्याभूति गर्न बनेको विधेयक २०७६ लाई दफाबार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस् भनि प्रस्ताब टेबुल गरेका थिए । प्रदेशसभाको अर्को बैठक सूचना जारी नभएसम्मका लागि स्थगित भएको बागमती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठले जानकारी दिए । बागमती प्रदेशका प्रदेशसभा सदस्यहरुले हेटौंडा आउने सडक सुधार गर्न सरकारसंग माग गरेका छन् ।
शुक्रबारको प्रदेशसभा बैठकको शुन्य समयमा बोल्दै सांसद रजनी अमात्य जोन्छेले काठमाडौंबाट हेटौंडा आउने सडकको अवस्था निकै कमजोर रहेको बताईन् । उनले प्रदेश राजधानी आउने कमसेकम एउटा सडक स्तरीय बनाउनका लागि सम्बन्धित निकायको ध्यानाकर्षण समेत गराईन् । सांसद गणेश दुलालले पनि सडकको खाल्डाखुल्डीले निकै समस्या बनाएको बताए । उनले ज्येष्ठ नागरिकहरु कसरी यात्रा गर्छन् भन्दै सडक सुधारका लागि ध्यानाकर्षण गराए । सांसद योगेन्द्र राज संग्रौलाले हेटौंडा आउने सडक धेरै भएपनि एउटा पनि स्तरीय नभएको बताए । उनले जनताबाट राजधानी आउने बाटो यस्तो अवस्थामा हुनु नसुहाउँदो भएको गुनासो आएको भन्दै सुधारको माग गरे ।
बागमती प्रदेशकी एक सांसदले मूख्यमन्त्री डोरमणी पौडेलले माघ १३ गते साँझ एभोकाडो होटलमा दिएको रात्रीभोजबारे प्रश्न उठाएकी छिन् । सांसद शोभा शाक्यले एउटा कामका लागि भनेर बोलाई अर्को कामको उपस्थितिमा हाजिरीमा गराएको भन्दै आपत्ति समेत जनाएकी हुन् । शुक्रबारको संसद बैठकमा बोल्दै उनले सांसदहरुलाई पठाएको एसएमएसमा मूख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयबाट धन्यवाद ज्ञापनसहित रात्रीभोजको आयोजना हुने भएकाले उपस्थितिका लागि जानकारी गराएको उल्लेख भएको बताईन् ।
उनले मूख्यमन्त्री डोरमणी पौडेलले मन्तव्यका क्रममा प्रदेश प्रमुखसंगको परिचय कार्यक्रम भनेको बताईन् । तर हाजिरीका क्रममा ‘बागमति प्रदेशसरकारदारा गरिने योजनाहरुको कार्यान्वयन तथा अनुगमनको प्रभावकारीता लगायत अन्य विविध विषयमा छलफल गर्नका लागि माननीय मूख्यमत्री ज्यूले प्रदेशसभाको सम्पूर्ण माननयहरुसहितको बैठक बसी देहाय बमोजिम उपस्थिति भयो ।’ भनि हाजिर गराएको भन्दै उनले आपत्ति जनाईन् । उनले संसदमा सोधिन्(‘मूख्यमन्त्री ज्यू यो के पारा हो, यो के गर्न खोज्नु भएको हो ?’ उनले आफुलाई यसको जवाफ चाहिएको बताईन् ।