कृपा संवाददाता
कलैया, ०९ बैशाख । कलैया उपमहानगरपालिकाका नगर प्रमुख राजेश राय यादवलाई प्रहरीले पक्राउ गरेको छ । कोरोना भाईरस (कोभिड–१९ ) का कारण जारी लकडाउनका बेला गरिब, असहाय, मज्दुरहरुलाई सरकारले राहत वितरण गर्न भनेका बेला कलैया उपमहानगरपालिकाका नगर प्रमुख यादवले राहतको नाममा कुहिएको दाल बिक्री गरेकाले प्रहरी पक्राउ गरेको बारे जिल्ला प्रहरी कार्यालय बाराले जानकारी दिए ।

 

 

राहत वितरणको नाममा कुहिएको दाल वितरण गरेको आरोपमा कलैया उपमहानगरपालिकाका मेयर यादवलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरिक्षक गौतम मिश्रले बताए । मेयरले आफु निकट पार्टीका वडाध्यक्षलाई कुहिएको दाल वितरण गर्न लगाएको आरोपमा पक्राउ गरिएको प्रहरी नायब उपरिक्षक गौतम मिश्रले जनाए ।

 

 

 

कुहिएको दाल वितरण गरेको आरोपमा प्रहरीले कलैया उपमहानगरपालिकाका वडा नम्बर १ का वडा अध्यक्ष हरिओम सोनार, वडा नम्बर ७ का वडा अध्यक्ष सफुल्लाह असारी, वडा नम्बर ११ का वडा अध्यक्ष सर्वनारायण चौधरी, वडा नम्बर १३ का वडा अध्यक्ष राजनप्रसाद कुर्मी र वडा नम्बर २६ का वडा अध्यक्ष महेश साह लगाउतलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

 

 

कलैया उपमहानगरपालिका वडा नम्वर २० का वडा सचिव खेदु मियाँ तथा यादव कोल्ड स्टोरका मुन्सि कृष्ण यादव र धनलक्ष्मी दाल मिलका सञ्चालक तेजनाराण शर्मालाई पनि प्रहरीले नियन्त्रणमा लिएका छन् । प्रहरीले गत चैत्र २९ गते कलैया उपमहानगरपालिका वडा नम्वर ७ स्थित यादव कोल्ड स्टोरमा पहिलो चोटि अनुगमन गर्दा गोदाममा रहेको ९ हजार ५ सय केजी रहरको दाल शिलबन्दी गरी नमुना संकलन गरी परिक्षणका लागि खाद्य तथा गुण नियन्त्रण कार्यालय हेटौंडामा पठाएको थियो ।

 

 

खाद्य तथा गुण नियन्त्रण कार्यालय हेटौंडाले राहतमा बाडिएको कुहिएको दाल खान अयोग्य रहेको रिपोर्ट पठाएपछि प्रशासन एक्सनमा आएर वडाध्यक्ष देखि मेयरसम्मलाई पक्राउ गरेको छ । पक्राउ परेकाहरुको बयान पछि पुन यादव कोल्ड स्टोरमा बैशाक ८ गते छापा हान्दा थप २२ हजार ५ सय किलो रहरको दाल बरामद गरी सोमबार साँझ सिल गरेको थियो । यादव कोल्ड स्टोर नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य एवं संविधान सभा सदस्य राधेचन्द यादवको नाममा रहेको छ । प्रहरी नियन्त्रणमा रहेका नगर प्रमुख यादव उनका छोरा हुन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here