सिमरा,युवालाई स्वरोजगार बनाउने उदेश्यसहित मंगलवारदेखि सिमरामा २१ दिने बेकरी तालिम सुरु भएको छ ।
सूर्य नेपाल प्रालिको आयोजना तथा होटल तथा पर्यटन व्यवसायी संघ बाराको समन्वयमा तालिम सुरु भएको हो । तालिममा जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १ र २ का २५ जना भन्दा बढी सहभागी छन् । तालिम व्यवस्थापनको जिम्मेवारी लिएको बागमती एजुकेशन कन्सल्टेन्सीका प्रशिक्षकले सहभागीलाई बेकरीका परिकार बनाउने विषयमा प्रशिक्षण दिनेछन् ।

सिमरास्थित होटल श्रेष्ठ रेसिडेन्सीमा संचालन हुने तालिमको एक कार्यक्रमकाबीच जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघका अध्यक्ष मोहन शर्मा लामिछानेले उद्घाटन गर्नुभएको थियो । तालिमको उद्घाटन गर्दै लामिछानेले स्वरोजगार बनाउने उदेश्यले आयोजना गरिएको तालिमबाट लाभ लिन सहभागीलाई आग्रह गरेका थिए । तालिमबाट प्राप्त सिपले रोजगारीका साथै स्वरोजगार बन्न सकिने लामिछानेको भनाई थियो ।यसैगरी सूर्य नेपाल प्रालिका व्यवस्थापक एवम् तालिम उद्घाटन कार्यक्रमका अध्यक्ष सुरेशकाजी श्रेष्ठले सामाजिक उत्तरदायित्व अन्तर्गत युवा लक्षित कार्यक्रम संचालन गरिएको बताउनुभयो ।

सूर्य नेपालले अघिल्लो वर्ष पनि बेकरी तालिम आयोजना गरेको बताउँदै श्रेष्ठले सोही कार्यक्रमलाई निरन्तरता दिइएको बताउनुभयो । आर्थिक रुपमा सबल बन्नका लागि सिपको विकास हुन आवश्यक रहेको बताउँदै श्रेष्ठले सिपको विकास गर्नका लागि तालिमको आयोजना गरिएको बताउनुभयो ।तालिमको उद्घाटन कार्यक्रममा होटल तथा पर्यटन व्यवसायी संघ बाराका अध्यक्ष शम्भु खड्गी, होटल तथा पर्यटन सहकारीका अध्यक्ष प्रलाद उप्रेती, होटल तथा पर्यटन व्यवसायी संघ बाराका सचिव गोविन्द गहतराज, सूर्य नेपाल प्रालिका उमेश थापा, दीपेन हाङ आङदाम्बे, सर्विन श्रेष्ठ, दिनेश कौडाललगायतको उपस्थिति रहेको थियो ।

 

Leave a Reply