वीरगञ्ज,पर्सा जिल्लाको पर्सागढी नगरपालिका क्षेत्रबाट सालको अवैध काठ तस्करीमा संलग्न दुई जनालाई वन गस्ती टोलीले पक्राउ गरेको छ ।शनीवार राति करिब १२ बजे सबैयास्थित साझेदारी वन क्षेत्रबाट सालको गोलिया साइकलमा बोकेर रतनपुरतर्फ लैजाँदै गरेको अवस्थामा दुई जनालाई पर्सागढी– ४ स्थित भेडाहा टोल नजिकैबाट वन सुरक्षाकर्मीको टोलीले नियन्त्रणमा लिइएको हो । गस्ती टोली सव डिभिजन वन कार्यालय सबैयाका रेन्जर भूपाल रोकायको नेतृत्वमा खटिएको थियो ।
पक्राउ पर्नेमा पर्सागढी– ४ पसरामपुरका अब्दुला देवान र वीरगञ्ज महानगरपालिका– ३१ मिलनचोकका जोखुवा रहेका छन् । दुवै जना काठ तस्करीमा संलग्न ‘नामुद तस्कर’ रहेको र उनीहरूसँगै रहेका अन्य दुई जना भने गस्ती टोली देखेपछि फरार भएको रेन्जर रोकायले जानकारी दिनुभयो ।उनीहरूको साथबाट ४ थान सालको गोलिया र तस्करीमा प्रयोग गरिएको साइकल समेत बरामद गरिएको छ ।पक्राउ परेका दुवै जनामाथि आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय वीरगञ्जमा बुझाइएको छ भने फरार तस्करहरूको खोजी कार्य तीव्र रूपमा जारी रहेको बताइएको छ ।



















