निजगढ,इन्जिनमा पानी पसेर बाढीमा फसेपछि निजगढस्थित पूर्वपश्चिम राजमार्गको बकैया खोला पुलमुनि नदी च्यानलाइजमा प्रयोग गरिएको एउटा एक्साभेटर दिनभरिको प्रयासपछि बिहीवार साँझ बाहिर निकालिएको छ ।
बकैया नदी च्यानलाइज गर्ने क्रममा बुधवार राति आएको बाढीमा निजगढ ९ का व्यवसायी खडगराज मैनालीको एक्साभेटर खोलामा फसेको थियो । खोलामा काम गर्नेक्रममा राति बाढी बढेको र बाहिर निस्कने क्रममा इन्जिनमा पानी पसेपछि एक्साभेटर खोलाको बीच भागमा नै रोकिएको थियो । खोलामा संगै काम गरिरहेका २ वटा एक्साभेटर भने राति नै बाहिरिन सफल भएका थिए ।
गाडी मिस्त्रीहरु खोलामै पुगेर मर्मत गरेपछि थप २ वटा एक्साभेटर, लोडर र टेक्टरको सहायताले एक्साभेटर निकालिएको निजगढ नगरपालिकाका इन्जिनियर नविन खनालले जानकारी दिनुभयो । बाढीले मंगलवार र बुधवार खोलामा निर्माण गरिएको च्यानलाइज बाँध पनि बगाएको उहाँले बताउनुभयो ।यसैबीच बाढीले बगाएको बाँध मर्मत गरेर बिहीवार दिउसोबाट फेरि बकैया खोलाको धार पश्चिमतर्फ नै फर्काइएको छ । ‘अहिले सामान्य रुपमा थुनेर अस्थायीरुपले धार फर्काएको छ, इन्जिनियर खनालले भन्नुभयो, बाढी रोकिएपछि शुक्रवार बिहानबाट थप काम गरेर बाँध व्यवस्थित र बलियो पार्ने कार्य गरिने छ ।’बकैया बाढीको कटानले निजगढ ९ स्थित आर्यघाट र आवादी क्षेत्रमा समेत जोखिममा परेपछि नगरपालिकाले नदी च्यानलाईज गरेर नदीको धार पश्चिमतर्फ फर्काउने प्रयास गर्दैआएको छ ।
















