सिमरा,ग्रासरुट फाउण्डेसनले आयोजना गरेको विद्यालय स्तरीय फुटबल प्रतियोगितामा सिमरा पल्लिक ईङलिस स्कुल (एस.पि.ई.एस) र नोबेल एकेडेमी विजयी भएका छन् ।
प्रतियोगिताअन्तर्गत आइतबार भएको पहिलो खेलमा सेन्ट पिटर्स एकेडेमी सिमरामाथि ३–० को जित निकाल्दै एस.पि.ई.एस. ले अघिल्लो चरणमा स्थान बनाएको हो ।
एस.पि.ई.एस.को जितमा आर्यन लामा र नितेश मगरले गोल गरे । टिमकालागि आर्यन एक्लैले दुई गोल गरेका थिए । सुरुवाती समयदेखि नै दवावमा परेको सेन्ट पिटर्सले पहिलो हाफ गोलरहित बराबरीमा रोके पनि दोस्रो हाफमा लगातार तीन गोल खान पुग्यो ।
३९औँ मिनेटमा विवके ढकालको उत्कृष्ट क्रसमा आर्यनले पहिलो गोल गरे । लगत्तै ४१ मिनेटमा नितेस मगरले एक गोल गर्दै टिमलाई २–० को स्थितिमा पु¥याए । ४२ मिनेटमै आर्यनले व्यक्तिगत दोस्रो गोल गर्दा सेन्ट पिटर्स ३–० ले पराजित भयो ।
उत्कृष्ट प्रदर्शन गर्दै खेलको म्यानअफ द म्याच नितेश मगर घोषित भए ।
त्यस्तै दोस्रो खेलमा पाथीभरा स्कुललाई २–१ ले हराउँदै नोबल एकेडेमीले विजयी सुरुवात गरेको छ । अस्मिन थिङ र मोहन विष्टको गोलमा नोबलले अघिल्लो चरणमा स्थान बनाएको हो । २३ मिनेटमा अस्मीन थिङको गोलबाट अग्रता बनाएको नोबलका लागि २९ मिनेटमै मोहन बिष्टले अग्रता दोब्बर पारे ।
उता पाथिभरका लागि आयुष खत्रीले सान्त्वना गोल फर्काएका थिए । खेलको अतिरिक्त समयमा गोल गर्दै आयुषले टिमलाई गोलरहित हुनबाट जोगाए । नोबलका खेलाडीले डि–बक्सभित्र फल गरेपछि पाएको पेनाल्टीलाई उनले गोलमा परिणत गरिदिएका थिए । खेलको म्यान अफ द म्याच नोबलका मञ्जिल घिसिङ भए । उत्कृष्ट प्रदर्शनसहित घिसिङले ट्रफी हात पारे ।
प्रतियोगिताअन्तर्गत सोमबार पनि दुई खेल हुनेछन् । पहिलो खेलमा सेन्ट जोन्स एकेडेमी र नेरामावि बकुलिया खेल्नेछन् । दोस्रो खेलमा न्यु एकता बोर्डिङ स्कुल र शुभतारा एकेडेमबीच खेल हुने प्रतियोगिता संयोजक सोनु क्षेत्रीले जानकारी दिनुभयो ।