वीरगन्ज,नहर निर्माणका क्रममा भ्रष्टाचार भएको आरोपमा नारायणी सिँचाइ व्यवस्थापन डिभिजन वीरगन्जका कर्मचारी र उपभोक्ता संस्थाका पदाधिकारीहरुमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारले नहर निर्माणको क्रममा भ्रष्टाचार भएको देखिएको आरोपमा नारायणी सिँचाइ व्यवस्थापन डिभिजन नम्बर ५, बहुअरी वीरगन्जका दुई कर्मचारी र उपभोक्ता संस्थाका दुई जनाविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।

नारायणी सिँचाइ व्यवस्थापन डिभिजन पर्सा ब्लक नम्बर २ र १० को नहर निर्माणका क्रममा उपभोक्ता संस्थालाई बद्नियतपूर्वक काम नै नभएको अवस्थामा पनि झुट्टा बिल बनाई गलत भुक्तानी दिई÷लिई भ्रष्टचारजन्य काम गरेको भनि परेको उजुरीको आधारमा छानबिन गर्दा आरोप पुष्टि भएको जनाउँदै अख्तियारले कर्मचारी र उपभोक्ता संस्थाका पदाधिकारीहरुमाथि मुद्दा दायर गराइएको जनाएको छ ।

अख्तियारले नारायणी सिँचाइ व्यवस्थापन डिभिजन नम्बर ५ बहुअरी वीरगन्जका तत्कालीन सबडिभीजनल इनिजिनियर (सिडीई) मदनमोहन झा र तत्कालीन लेखा अधिकृत मुरारीप्रसाद आचार्यविरुद्ध जनही ५ लाख ६१ हजार ९५० रुपैयाँ बिगो कायम गरी कैद र बिगोबमोजिम जरिवाना गरी बिगो असुल–उपर हुनसमेत मागदाबी लिई भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

त्यसैगरी ब्लक नम्बर २ हरिहरपुर बिर्ता पर्साका अध्यक्ष कुसुम देवी कलवार र कोषाध्यक्ष राजकिशोरप्रसादमाथि पनि जनही ५ लाख ६१ ह्जार ९५० रुपैयाँ बिगो कायम गरी कैद र बिगोबमोजिम जरिवाना गरी बिगो असुलउपर हुनसमेत माग दाबी लिई भ्रष्टाचार मुद्दा दायर गरेको अख्तियारले जारी गरेको सूचनामा उल्लेख छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here