रामकिशोर चौधरी
सखुवाप्रसौनी,सखुवाप्रसौनी गाउँपालिका स्तरीय सहजीकरण समिति र भूमिसमस्या समाधान आयोग (पर्सा) को सहकार्यमा आयोजित विशेष कार्यक्रममार्फत वडा नम्बर १ र २ का सुकुम्बासी परिवारलाई निस्सा वितरण गरिएको छ।कार्यक्रमको अध्यक्षता गाउँपालिका अध्यक्ष (मेयर) जस्वन्त यादवले गर्नुभएको थियो भने प्रमुख अतिथि भूमिसमस्या समाधान आयोग पर्साका अध्यक्ष तबरेज अहमद रहनुभएको थियो ।

वडानम्बर १ का ४३१ जना र वडा नम्बर २ का १९० जना, गरी ६२१ सुकुम्बासी व्यक्तिहरूलाई निस्सा वितरण गरिएको हो।
कार्यक्रममा बोल्दै अध्यक्ष यादवले भन्नुभयो, “भूमिहीन, विपन्न र सुकुम्बासी नागरिकलाई जीवनमा स्थायित्व दिने दिशामा यो निस्सा वितरण कार्यक्रम महत्वपूर्ण कदम हो। आजको दिन सखुवाप्रसौनीका लागि ऐतिहासिक दिन हो। गाउँपालिका कार्यालयले भविष्यमा पनि भूमिसम्बन्धी समस्या समाधान गर्न आयोगसँग सहकार्य गर्दै जानेछ।”

कार्यक्रममा उपाध्यक्ष शर्मिला बिष्ट महतोले स्वागत मन्तव्य दिँदै यस्ता कार्यक्रमहरूले नागरिकको सरकारप्रतिको विश्वास बलियो बनाउने बताउनुभयो । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत रामबाबुप्रसाद कुशवाहा, वडा नम्बर १ का अध्यक्ष बासुदेव महतो थारु, वडा नम्बर २ का अध्यक्ष चिरञ्जीवी महतो थारु, वडा नम्बर ३ का मोजामिल अन्सारी, वडा नम्बर४ का महम्द आरीफ अन्सारी, वडा नम्बर ५ का अशेशवर यादव र वडा नम्बर ६ का मुना कमकरलगायत स्थानीय जनप्रतिनिधिहरूको उपस्थिति थियो।कार्यक्रमले सुकुम्बासी नागरिकलाई कानुनी पहिचान दिलाउँदै भविष्यमा स्थायी बसोबासको बाटो खोल्ने अपेक्षा गरिएको छ।

Leave a Reply