सिमरा,बाराको जीतपुरसिमरा उपमहानगरपालिका २१ चुरियामाई मन्दिरको जंगल क्षेत्रमा आइतवार साँझ दुई ट्रक एकआपसमा ठोक्किँदा स्टेरिङमा च्यापिएका ट्रक चालकको उद्धार गरिएको छ ।दुई वटा ट्रक ठोक्किएपछि स्टेरिङमा च्यापिएर उनी घाइते भएका थिए ।घाइते भएका ट्रक चालक चितवनको भरतपुर उपमहानगरपालिका १६ का अन्दाजी ३५ वर्षीय अरुण श्रेष्ठ रहेका छन् । स्टेरिङमा च्यापिएका उनलाई तीन घण्टापछि ट्रकको झ्याल फुटाएर बाहिर निकालिएको हो ।हेटौडाबाट पथलैयातर्फ आउँदै गरेको ना ७ ख ७३०१ नम्बरको ट्रकलाई सोही दिशाबाट आउँदै गरेको ना ६ ख ३७६३ नम्बरको ट्रकले ठक्कर दिँदा दुवै ट्रक सडकको बायाँतर्फ पल्टिएर दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी घाइते भएका श्रेष्ठ ना ६ ख ३७६३ नम्बरको ट्रकको चालक हुन् ।उक्त स्थानमा सशस्त्र प्रहरी बल नेपाल नं १४ गण मकवानपुरबाट सशस्त्र प्रहरी निरीक्षक अनिल कार्कीको नेतृत्वमा खटिएको टोलीले उनको उद्धार गरेको सशस्त्र प्रहरीका सहप्रवक्ता तथा डीएसपी शैलेन्द्र थापाले बताउनुभयो ।उद्धार पश्चात उनलाई उपचारको लागि जिल्ला अस्पताल हेटौंडातर्फ पठाइएको छ भने अर्का ट्रकका चालक भने सामान्य रहेका छन् । दुवै ट्रकमा चालक बाहेक अन्य कोही नरहेको प्रहरीले जनाएको छ ।

ट्याङ्करको ठक्करबाट एकजनाको मृत्यु
सिमरा,पथलैया– वीरगञ्ज व्यापारिक मार्गअन्तर्गत बाराको जीतपुरमा सोमवार दिउँसो ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा वीरगञ्ज महानगरपालिका ३२ का २० वर्षीय महमद साहिल अंसारी रहेका छन् ।
वीरगञ्जबाट सिमरातर्फ आउँदै गरेको ना६ख २९९२ नम्बरको ट्याङ्करले मधेश प्रदेश ०३–०२–०२४प ३९६९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा चालकको मृत्यु भएको हो । सडक पार गर्ने क्रममा ट्याङ्करले मोटरसाइकललाई ठक्कर दिएको प्रत्यक्षदर्शीले बताएका छन् ।घटनालगत्तै चालकलाई वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पताल लगिएपनि चिकित्सकले मृत घोषणा गरेका थिए । मोटरसाइकललाई ठक्कर दिने ट्याङ्करसहित चालक जीतपुरसिमरा उपमहानगरपालिका २४ का ३० वर्षीय मेहरमान अंसारीलाई ईलाका प्रहरी कार्यालय सिमरा अन्तर्गतको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ ।

Leave a Reply