वीरगञ्ज,नेपाल पत्रकार महासंघ पर्साको कार्यालयमा तालाबन्दी गरिएको छ । जालझेल र नियतबस नेपाल पत्रकार महासंघको सदस्यता सूचीबाट केही क्रियाशील पत्रकारलाई हटाइएको भन्दै समाजवादी प्रेस संगठन नेपाल पर्साले कार्यालयमा तालाबन्दी गरेको हो ।

मापदण्ड पूरा गरेपनि केही क्रियाशील पत्रकारलाई सदस्यता नदिएकोप्रति समाजवादी प्रेस संगठनको आपत्ति रहेको संगठन पर्साका अध्यक्ष शम्भुकुमार सुमनले बताउनुभयो । सदस्यता सूची सच्याउनका लागि आग्रह गर्दै उहाँले नसच्चिएसम्म अनिश्चितनकालिन तालाबन्दी गरिने बताउनुभयो ।

समाजवादी प्रेस संगठनको केन्द्रीय समितिले नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यालयमा पनि तालाबन्दी गरेको छ । संगठनको केन्द्रीय कार्यक्रमअनुसार जिल्ला शाखामा पनि तालाबन्दी गरिएको उहाँको भनाई छ । नेपाल पत्रकार महासंघको केन्द्रीय समितिले सार्वजनिक गरेको सूचीमा समाजवादी प्रेस संगठनका केन्द्रीय सचिव बृजलाल पासवानको सदस्यता हटाएको र संगठन पर्साका सहसचिव श्याम सर्राफको सबै प्रक्रिया पूरा भएपनि सदस्यता नदिएकोप्रति संगठनले आपत्ति जनाएको छ ।
यसैबीच केन्द्रीय समितिले महासंघको विधान विपरित गएर बलमिच्याई गरेको नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष अनुप तिवारीको भनाई छ । जिल्ला शाखाले सिफारिस गरेको नयाँ सदस्यता र नविकरणको विपरित केन्द्रले सिफारिस नै नगरेको नामहरु सूचीमा रहेको अध्यक्ष तिवारीले बताउनुभयो । उहाँकाअनुसार जिल्ला शाखाले सिफारिस नै नगरेका र फरार सूचीमा रहेका मान्छेको नाम समेत महासंघले सार्वजनिक गरेको सूचीमा हुनु आश्चर्यजनक कुरा हो । यसमा महासंघको केन्द्रीय समितिले विधान विपरित गरेको उहाँको ठहर छ ।

नविकरण नगर्ने भनिएका व्यक्तिहरुको नाम पनि समावेश गर्नु, कसैले नचिनेका र पत्रकारिता नै नगरेका व्यक्तिको नाम पनि राखिएकोमा महासंघले विरोध गरिरहेको तिवारीले बताएउनुभयो । उहाँले भन्नुभयो, ‘१४० जनाको अन्तिम सूची थियो । तर यी बाहेक पनि नामै नचिनेका व्यक्तिको नाम महासंघले सार्वजनिक गर्दा हामी आश्चर्य चकित भएका छौँ । यो सरासर विधान विपरित हो । यो गलत कामको हामी विरोध गरिरहेका छौँ ।’शाखाले आवेदन खोल्ने, आवेदनको छानविन गरी प्रदेशलाई पठाउने र प्रदेशमा उजुरी परेपछि शाखाको समन्वयमा छानबिन गरी केन्द्रमा अभिलेखीकरणका लागि पठाउने महासंघको विधानमा स्पष्ट व्यवस्था गरिएको छ । तथापि विधान विपरित क्रियाशील पत्रकारको नाम हटाएर मनोबल गिराउने र पत्रकारिता पेसामै नभएकालाई सदस्यता दिएर पत्रकारिता पेशाको बदनाम गराउने कार्य कदापि सह्य नहुने अध्यक्ष तिवारीको अडान छ ।सूची नसच्चिएसम्म पर्सा शाखाले अधिवेशन र निर्वाचनको कुनै प्रक्रिया अघि नबढाउने चेतावनी पनि अध्यक्ष तिवारीले दिनुभएको छ ।

Leave a Reply