निजगढ,निजगढ विमानस्थल निर्माण गर्नुपर्ने माग राखेर काठमाण्डौं पुगेको निजगढ सार्वजनिक सरोकार समितिको टोलीले शनिवार प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापन पत्र बुझाएको छ । टोलीले प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानमन्त्री देउवालाई ज्ञापन पत्र बुझाएको हो ।
ज्ञापन पत्र बुझ्दै प्रधानमन्त्री देउवाले टाँगियावस्तिको हाल प्रस्तावित स्थानभन्दा केही पूर्वको स्थानमा सारेर भएपनि सरकारले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाएरै छाडने बताउनुभएको सरोकार समितिका संयोजक एकबहादुर श्रेष्ठले जानकारी दिनुभयो । सोही क्रममा प्रम देउवाले विमानस्थल बनाउने भएर नै सरकारले चालु आर्थिक वर्षको बजेटमा समेत रकम छुट्टयाएको भनेर बताएको श्रेष्ठले जानकारी दिनुभयो ।
त्यसैगरी टोलीले शनिवार नै नेकपा एमालेका अध्यक्ष एंव पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्ड र जनता समाजववादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई पनि ज्ञापन पत्र बुझाएकोछ । सरोकार समितिको टोलीले पूर्वप्रधानमन्त्री ओलीलाई भने निजी निवास बालकोट पुगेर ज्ञापन पत्र बुझाएको थियो । भेटको क्रममा पूर्वप्रम ओली र प्रचण्डले पनि विमानस्थल बनाउनुपर्ने कुरामा जोड दिनुभएको बताइएको छ ।
यसैबीच विमानस्थल निर्माण नगर्न सर्वोच्च अदालतको फैसलाप्रति असन्तुष्टि जनाउँदै खानेपानी मन्त्री उमाकान्त चौधरी नेतृत्वको अर्को टोलीले पनि शनिवार प्रधानमन्त्री देउवाको ध्यानाकर्षण गराएको छ ।
मन्त्री चौधरी नेतृत्वको टोलीले प्रधानमन्त्री निवास बालुवाटारमा देउवालाई ज्ञापन–पत्र पेश गर्दै निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्य अघि बढाउन आग्रह गरेको हो । भेटमा प्रधानमन्त्री देउवाले निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउन आगामी आर्थिक वर्षको लागि सरकारले बजेट विनियोजन गरेको जनाउनु हुँदै कानुनी अड्चन फुकाएर निर्माण प्रक्रिया अघि बढाउने जनाउनु भएको जानकारी दिइएको छ ।