मनोज शाह
जीतपुर,जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १ स्थित सिमरा रंगशाला परिसरभित्र बायोमेट्रोन कबर्ड हल निर्माण कार्य शुरु भए पनि निर्माणस्थलमा कुनै पनि जानकारीमूलक सूचना बोर्ड नराखिएको पाइएको छ ।नेपालको प्रचलित नियमअनुसार कुनै पनि आयोजनाको निर्माण अघि सूचना बोर्ड राख्न अनिवार्य मानिन्छ ।
स्थानीयले रंगशाला पुगेका बेला निर्माणसम्बन्धी कुनै जानकारी, बजेट, ठेकेदार, समयसीमा वा परियोजना विवरण उल्लेख गरिएको सूचना बोर्ड नदेखिएको स्थानीय रामु श्रेष्ठले बताउनुभयो । यसबारे त्यहाँ उपस्थित कर्मचारीसँग जिज्ञासा राख्दा यस विषयमा उनीहरुले केही बताउन नचाहेपछि स्थानीयमा थप शंका र असन्तुष्टि बढेको छ ।स्थानीयवासीका अनुसार कबर्ड हल निर्माण हुनु खुशीको कुरा तर सूचना नदिई काम थाल्नु पारदर्शिताविरुद्ध हो ।
यस विषयमा उपमहानगरपालिकाले स्पष्ट जानकारी नदिँदा परियोजनाको पारदर्शिता र व्यवस्थापनप्रति प्रश्न उठ्न थालेको छ । स्थानीय खेलाडी सुवास थापाले आवश्यक सूचना सार्वजनिक गर्न माग गर्नुभएको छ ।















